२६ जना बेपत्ता, एकको शव भेटियो; बाँकीको कुशको शव बनाएर अन्त्येष्टि


काठमाडौँ। 

गोसाइँकुण्ड जाने क्रममा रसुवाको बेत्रावतीबाट बेपत्ता भएका धादिङ नीलकण्ठका २६ जनामध्ये एक जनाको मात्र शव भेटिएको छ। नीलकण्ठ–९ की गायत्री लम्सालको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा फेला परेको हो।

गायत्रीका श्रीमान् शिवहरि लम्सालसहित बाँकी २५ जना अझै बेपत्ता छन्। लामो समयसम्म काठमाडौं, चितवन र पोखरामा खोजी गर्दा पनि शव फेला नपरेपछि परिवारले शिवहरिको कुशको शव बनाएर गायत्रीसँगै अन्त्येष्टि गरेका छन्।

बेपत्ता अन्य व्यक्तिका परिवारले पनि जीवितै भेटिने सम्भावना न्यून रहेको भन्दै कुशको शव बनाएर अन्त्येष्टि गर्ने तयारी गरेका छन्। उनीहरू बेत्रावतीमा आएको बाढीका कारण बेपत्ता भएका थिए। परिवारका अनुसार बाढी आउनुअघि उनीहरूले आफूहरू एउटा घरमा बसेको र बस बगाइसकेको जानकारी फोनमार्फत गराएका थिए।

बेपत्ता भएकामध्ये एउटै परिवारका चारदेखि सात जनासम्म छन्। लामो खोजीपछि पनि अधिकांशको अवस्था पत्ता नलागेपछि गाउँ नै शोकमा डुबेको आफन्तहरूले बताएका छन्।