चितवन ।
भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष केशव महर्जनको सक्रियतामा नारायणी नदीबाट उद्धार गरी सुरक्षित स्थानमा राखिएका ग्यास सिलिण्डर सम्बन्धित व्यक्तिलाई फिर्ता गर्न थालिएको छ।
भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली हुँदै नारायणी नदीमा बगेर आएका विभिन्न सामग्रीसँगै ग्यास सिलिण्डरसमेत फेला परेका थिए। नदीमा बगेका सिलिण्डरहरू स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा संकलन गरी सुरक्षित स्थानमा राखिएको थियो।
नदीबाट बगेर आएका सामानमा ग्यास सिलिण्डर पनि ठूलो संख्यामा भेटिएपछि तिनको पहिचान गरी सम्बन्धित धनीलाई फिर्ता गर्ने पहल थालिएको वडाध्यक्ष महर्जनले बताउनुभयो। उहाँका अनुसार फेला परेका सिलिण्डरको विवरण संकलन तथा पहिचानको काम गर्दै सम्बन्धित व्यक्तिलाई प्रमाणका आधारमा फिर्ता गर्ने व्यवस्था मिलाइएको छ।
बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म विभिन्न सामग्री बगेर आएका छन्। नारायणी नदी तथा नदी तटीय क्षेत्रमा यस्ता सामग्रीसँगै बाढीले बगाएर ल्याएका शवसमेत फेला परिरहेका छन्। पछिल्लो समय चितवनमा बाढीपछि खोज तथा उद्धारसँगै नदीले बगाएर ल्याएका सामग्रीको व्यवस्थापनसमेत चुनौतीपूर्ण बनेको छ।
वडाध्यक्ष महर्जनले नदीबाट भेटिएका प्रयोगयोग्य तथा पहिचान गर्न सकिने सामग्रीलाई बेवारिसे रूपमा नराखी सम्बन्धित धनीसम्म पुर्याउने प्रयास भइरहेको बताउनुभयो। उहाँले बाढीबाट प्रभावित व्यक्तिका सामान फेला परेमा स्थानीय तह तथा सुरक्षाकर्मीलाई जानकारी गराउनसमेत आग्रह गर्नुभएको छ।












प्रतिक्रिया