चितवनमा १९९ शवको व्यवस्थापन, अझै नदी किनारमा खोजी जारी

0
Shares

चितवन ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा बगेर आएका तथा सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ स्थित देवघाट क्षेत्रको जङ्गलमा आइतबार रातिसम्म ती शवहरूको व्यवस्थापन गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बाढीपछि चितवनका विभिन्न नदी किनार तथा आसपासका क्षेत्रमा हालसम्म २७२ वटा शव तथा मानव अवशेष फेला परेका छन्। तीमध्ये १९९ वटा सनाखत हुन नसकेका शवको देवघाटस्थित जङ्गल क्षेत्रमा व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो।

हालसम्म फेला परेका शवमध्ये १२ वटा शवको मात्र सनाखत भएको प्रहरीले जनाएको छ। सनाखत भएका शवहरूको आवश्यक कानुनी प्रक्रिया तथा परीक्षण पूरा गरी सम्बन्धित परिवारलाई बुझाइएको छ।

सनाखत हुन नसकेका शव व्यवस्थापन गर्दा भविष्यमा डीएनए परीक्षणबाट पहिचान खुलेमा पुनः सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाइएको प्रहरीको भनाइ छ। त्यसका लागि प्रत्येक शव तथा व्यवस्थापन गरिएको स्थानमा आवश्यक सङ्केत चिह्न राखिएको छ। शवको डीएनए नमुना तथा आवश्यक विवरण सुरक्षित राखिएकाले बेपत्ता व्यक्तिका परिवारसँग डीएनए नमुना मिलेमा पहिचान गरी परिवारलाई जिम्मा लगाउन सकिने जनाइएको छ।
प्रहरीका अनुसार चितवनमा हालसम्म फेला परेका २७२ शवमध्ये ११० जना पुरुष, ६२ जना महिला, सात जना बालक र छ जना बालिका रहेका छन्। यस्तै ८७ वटा मानव अवशेषसमेत फेला परेका छन्। नदीमा आएको बाढी र तीव्र बहावका कारण शव तथा मानव अवशेष विभिन्न स्थानमा बगाएर ल्याएको हुनसक्ने भएकाले खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढीपछि त्रिशूली हुँदै नारायणी नदीमा आएका शव चितवनका विभिन्न क्षेत्रमा फेला पर्ने क्रम अझै रोकिएको छैन। नदी किनार, टापु तथा झाडी क्षेत्रमा समेत खोजी गर्नुपर्ने भएकाले सुरक्षा निकायले सम्भावित क्षेत्रमा नियमित रूपमा खोजी गरिरहेका छन्।

शव खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा परिचालन गरिएको छ। नदीको बहाव, भौगोलिक अवस्था तथा शवहरू विभिन्न स्थानमा छरिएर रहेको अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण भए पनि सम्भावित सबै क्षेत्रमा टोली परिचालन गरी खोजीलाई निरन्तरता दिइएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार नदीमा थप शव फेला पर्न सक्ने सम्भावना रहेकाले खोजी तथा उद्धार टोलीलाई सतर्क अवस्थामा राखिएको छ। फेला पर्ने शवको पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै पहिचान हुन नसकेका शवलाई सुरक्षित र सम्मानजनक रूपमा व्यवस्थापन गर्ने कार्यसमेत सँगसँगै भइरहेको छ।
यसैबीच, बेपत्ता आफन्तको खोजीमा रहेका परिवारलाई शवको पहिचान तथा डीएनए परीक्षणसम्बन्धी प्रक्रियामार्फत सम्भावित मिलान गराउने कामलाई पनि प्राथमिकतामा राखिएको छ। सुरक्षा निकाय र सम्बन्धित निकायले संकलित विवरण तथा नमुना सुरक्षित राखिएकाले भविष्यमा प्रविधि तथा डीएनए परीक्षणबाट पहिचान खुलेमा व्यवस्थापन गरिएको स्थानबाट समेत शवको पहिचान गरी परिवारलाई बुझाउन सकिने व्यवस्था गरिएको जनाइएको छ।