काठमाडौं ।
रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा बुधबार बिहान करिब ९ बजे अचानक आएको बाढीले खोला तटीय क्षेत्रमा क्षति पुर्याएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाले हेलिकप्टरसहित उद्धार तथा विपद् व्यवस्थापन टोली परिचालन गरेको छ। सेनाका अनुसार खोज तथा उद्धारका लागि दुईवटा हेलिकप्टर त्रिशूली पुगेका छन्। त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको Emergency Medical Rescue Team (EMRT) समेत एमआई–१७ हेलिकप्टरसहित परिचालन भएको छ।
सम्भावित घाइतेको उद्धार तथा तत्कालीन स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले मेडिकल टोली खटाइएको हो। यसैगरी धुन्चे र त्रिशूली ब्यारेकबाट नेपाली सेनाका उद्धार टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा दक्ष जनशक्ति समेत प्रभावित क्षेत्रमा खटाइएको नेपाली सेनाले जनाएको छ। बाढीका कारण टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा सडक, बस्ती तथा अन्य संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनामा मानवीय क्षति भए/नभएको तथा भौतिक क्षतिको यकिन विवरण संकलन भइरहेको छ। यसैबीच, नेपाली सेनाले त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा नबस्न तथा आवश्यक परे सुरक्षित स्थानतर्फ जान सेनाले अनुरोध गरेको छ। सेनाले बाढी प्रभावितको खोज तथा उद्धार कार्यमा स्थानीयवासी तथा सम्बन्धित सबै पक्षलाई आवश्यक सहकार्य गर्नसमेत आग्रह गरेको छ।














प्रतिक्रिया