बाँदर आतंक रोक्न ठोस योजना बनाऊ


बाँदर आतंक देशभर फैलिएको छ । केही वर्षअघि बँदेल आतंकले पहाडी बस्ती आजित थियो । अहिले बाँदर आतंक बढेको छ । बाँदर आतंकले खेतबारी बाँझै छ । बाँदर आतंकले गर्दा अधिकांश स्थानीय गाउँघरको जायजेथा छाडेर शहर पसेका छन् । बाँदर र बँदेल आतंकको कारण ग्रामीण भेगमा बसोबास गर्ने जनता भोकभोकै हुनुपर्ने अवस्था आएको छ । पछिल्लो समय बाँदर आतंक राजधानी प्रवेश गरेको छ । राजधानीको स्वयंम्भू, चाबहिल, सिनामंगल, वसन्तपुर, बत्तीसपुतली, त्रिपुरेश्वरलगायत दर्जन बढी क्षेत्रका स्थानीय आतंकित छन् । बाँदरको संख्या बढ्दै गएको र कतिपय स्थानमा यसको बासस्थान मासिँदै गएकाले बाँदर शहर छिर्न थालेका हुन् । बाँच्नकै लागि संघर्ष गर्नुपर्ने बाध्यताले पनि बाँदर राजधानीका शहरी बस्तीमा प्रवेश गर्न थालेका छन् ।

बाँदर आतंकको विषय संसद्मा प्रवेश भएको चार महिनापछि राजधानीमा बाँदरले दुःख दिएको सवाल भित्रिएको छ । बाँदरसँग आफूहरु जुध्न नसक्ने बताउँदै स्थानीयले बाँदर व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरेका छन् । सरकारले बाँदर नियन्त्रण गर्ने विषयमा खासै चासो देखाएको छैन । उता स्थानीयले स्थानीय सरकार गुहारेका छन् भने राजधानीवासीले तत्काल बाँदर आतंक व्यवस्थापन गरी बासस्थान सुरक्षित गर्न काठमाडौँ महानगरपालिकामा गुहार मागेका छन् । बाँदरले बाहिरबाट आएर घरभित्र पसी आतंक मच्चाउने गरेको र मानिसलाई देख्नासाथ झम्टेर आक्रमण गर्ने गरेकोले राजधानीवासी आतंकित भएका छन् । उनीहरुको एउटै माग छ– प्लिज बाँदर नियन्त्रण गरिदिनुप¥यो ।

राजधानीको तथ्याङ्क विष्लेषण गर्दा स्वयम्भू क्षेत्रमा १० समूहमा करिब १ हजार ७ सयको संख्यामा बाँदर बसोबास गर्छन् । दुई वर्षअघि त्यहाँ करिब १ हजार १७९ वटा बाँदर थिए । विशेष गरी मठमन्दिर भएका सबै ठाउँमा बाँदरको संख्या बढ्दो क्रममा छ । बाँदरको संख्या बढ्नु भनेको स्थानीयले सास्ती पाउनु हो । पानीसँगको सामीप्यता बाँदरको आधारभूत आवश्यकता हो । पानी खानकै लागि घरघर प्रवेश गर्ने गरेको गुनासो पनि छ । खान पाउन्जेल शान्त रहने र खान नपाए आक्रामक बन्ने गरेको देखिन्छ । टोक्नुपर्ने, चपाउनुपर्ने खानेकुरामा उनीहरुको रुचि बढी हुन्छ । उनीहरु विभिन्न खालका कीरा पनि खान्छन् ।

आहाराकै खोजीमा बाँदर घरघर प्रवेश गर्न थालेका हुन् । जग्गाजमिनको अभाव भएकाले काठमाडौंमा कौसीखेतीको चलन छ । बाँदरले कौसीखेती सखाप पार्ने गरेको छ । पीडितका अनुसार बाँदरले भेटेका खानेकुरा खाने मात्रै नभई अरु उपद्रो गर्छन् । बाहिर राखेका जुत्ताचप्पल लैजान्छन् । छतमा सुकाएको लुगा पनि लैजान्छन् । छतको धारा खोलेरै पानी खान्छन् । खोल्न जान्दछन् तर बन्द गर्न जान्दैनन् । यो बाँदरको स्वभाव हो । यस्तो स्वभाव रोक्न नसकेपछि बाँदर शहरी बस्तीमा प्रवेश गरी घरघर पुगेर आतंक मच्चाउँछ । यसरी राजधानी अर्थात् शहरी क्षेत्रमा समेत बाँदर आतंक मच्चिएपछि स्थानीयवासीले मेयर र उपमेयर गुहार्न थालेका छन् । कामपाले बाँदर नियन्त्रण गर्ने विषयमा ठोस योजना बनाउने तयारी गरेको छ । राजधानीमा मात्रै होइन, देशभर बाँदर नियन्त्रण गर्न ठोस योजना बनाउनु जरुरी छ । होइन भने बाँदर आतंकले हजारौँ मान्छे विस्थापित हुनुपर्ने अवस्था आउन सक्छ । सरकारले तत्काल यस विषयमा चासो राखेर समस्या समाधान गर्नु अति जरुरी छ ।