काठमाडौँ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति भोला थापाले दुई साताअघि शिक्षाध्यक्ष (रेक्टर) र रजिस्टार सिफारिस गरे पनि नियुक्ति हुन सकेको छैन । त्रिवि उच्चस्रोतले दिएको जानकारीअनुसार शिक्षाध्यक्षमा अन्जना सिंहको सिफारिस भएको छ भने रजिस्टारमा ज्योति तन्डुकारको नाम सिफारिस भएको छ । सिफारिस गरेकालाई नियुक्ति गर्ने विषयमा उपकुलपति मौन हुनुहुन्छ ।
उहाँहरूको नाम सिफारिस भएको करिब दुईसाता बढी भएको जानकारी दिँदै स्रोतले नेपाल समाचारपत्रसँग भन्यो– ‘नियुक्ति हुने वा नहुने अनिश्चित छ ।’ स्रोतका अनुसार सिफारिस भएकामध्ये रजिस्टारमा सिफारिस हुनुभएका तन्डुकारको विषयमा उजुरी परेकाले त्यसमाथि छानबिन भैरहेको छ । स्रोतका अनुसार रजिस्टारमा सिफारिस तन्डुकारको नाम परिवर्तन हुने सम्भावना छ ।
सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सल्लाहमा नाम सिफारिस भएको हो । उपकुलपति थापाले कार्यकारी परिषद्का सदस्यलाई आफूले नाम सिफारिस गरिसकेको बताउनुभएको थियो । साउन अन्तिम साता नियुक्ति गरी बजेट अधिवेशन गर्ने तयारी भए तापनि नियुक्ति नभएकाले समस्या भएको हो ।
स्रोतका अनुसार सरकारले सबै विश्वविद्यालयमा रेक्टर र रजिस्टार पद समावेशी हुनुपर्ने उल्लेख गर्दै नाम सिफारिस गर्न आग्रह गरेको थियो । त्यसै आधारमा दुई जनाको नाम सिफारिस भएको हो । उपकुलपतिमा मापदण्ड नमिलेको जस्तो भएर मिलाउन आग्रह गरिएअनुसार नाम सिफारिस गरिएको जानकारी दिँदै उपकुलपति थापाले भन्नुभयो– ‘यो वा त्योभन्दा पनि नाम आए जति सिफारिस गरेको छु, कुलपतिज्यूले कसलाई नियुक्ति गर्नुहुन्छ । त्यसपछि मात्र जानकारी होला।’
मन्त्रालयले एकैपटक रेक्टर र रजिस्टार नियुक्ति गर्न आन्तरिक तयारी गरेको थियो । उपकुलपतिको सिफारिसमा कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले नियुक्ति दिने प्रावधान छ । धेरैको नाम अघि बढेको थियो । दुई जनाको मात्र सिफारिस भएकामा सिंह माइक्रोबायोलोजी विभागका हुनुहुन्छ भने तन्डुकार इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत हुनुहुन्छ ।
अध्यादेशबाट कार्यकारी परिषद् र सिनेट खारेज भएका कारण महत्वपूर्ण दुई निकायमा पदाधिकारी नियुक्ति नहँुदा सबै काम ठप्प छ । उपकुलपति थापा दुई पदाधिकारी नियुक्तिपछि मात्र चालु आर्थिक वर्षको बजेट ल्याउने तयारीमा हुनुहुन्छ ।
त्रिविमा सुधारका दर्जनौँ काम गर्न बाँकी छ । पदाधिकारी नहुँदा गम्भीर समस्या परेको छ । सरकारले १९ असारमा थापालाई उपकुलपति नियुक्ति गरेको थियो । उपकुलपति नियुक्ति गरेर दुई पदाधिकारी नियुक्ति नगर्दा मन्त्रीको आलोचना भएको छ । ‘बोल्दाखेरी उपकुलपतिलाई पदाधिकारी नियुक्ति गर्न भनिएको थियो । तर नियुक्ति गर्न अधिकार नै नदिएपछि कसरी हुन्छ ?’ त्रिविका अधिकारीले नेपाल समाचारपत्रसँग भने ।
हाल निमित्त शिक्षाध्यक्षको जिम्मा विज्ञान संकायका डीन शंकरप्रसाद खनाल र रजिस्टारको जिम्मा व्यवस्थापनका डीन महानन्द चालिसेले लिनुभएको छ । स्रोतका अनुसार उपकुलपति थापाले आफ्नो अनुकूलको टीम नआईकन बजेट बनाउने सम्भावना कम छ । आँट गरेदेखि एक्लैले बजेट ल्याउन सक्नुहुन्छ तर किन चुनौति लिने भन्ने सोचेर बजेट ल्याउने आँट गर्नुभएको छैन ।











प्रतिक्रिया