काठमाडौं ।
नेकपा एमाले संसदीय दलका पूर्व प्रमुख सचेतक महेश बर्तौलाले सामाजिक सञ्जालमा व्यक्त भएका असभ्य तथा अमर्यादित टिप्पणीलाई संसदको रोस्ट्रमबाट जस्ताको तस्तै दोहोर्याउनु संसदीय मर्यादा र गरिमाअनुकूल नहुने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा पूर्व उपसभामुखसमेत रहिसकेकी वर्तमान प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले आफूविरुद्ध सामाजिक सञ्जालमा प्रयोग भएका अमर्यादित, अशोभनीय तथा आपत्तिजनक शब्द र टिप्पणीबारे संसदमा व्यक्त गरेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बर्तौलाले बताएका हुन्।
बर्तौलाले सामाजिक सञ्जालमा हुने असभ्य, अश्लील, अमर्यादित तथा आक्रोशपूर्ण टिप्पणी निन्दनीय रहेको उल्लेख गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने बताए। तर, त्यस्ता शब्द वा आरोपलाई संसदको रोस्ट्रमबाटै जस्ताको तस्तै दोहोर्याउनु पनि संसदीय आचरण, मर्यादा र गरिमाअनुकूल नहुने उनको भनाइ छ।
उनले संसदका प्रत्येक सदस्यले सामाजिक सञ्जालमा आएका असभ्य भाषा वा शब्दलाई रोस्ट्रमबाट दोहोर्याउन थाले संसदको गरिमा र मर्यादा कमजोर हुने बताए। आफ्नाविरुद्ध भएको अन्याय तथा पीडाका विषयमा संसदमा प्रतिवाद गर्न पाउने भए पनि सांसदहरूले संसदमा बोल्ने प्रत्येक शब्दले समाज र आगामी पुस्तामा पार्ने प्रभावबारे सचेत हुनुपर्ने उनको धारणा छ।
बर्तौलाले आफूले उक्त विषयलाई कुनै व्यक्ति वा पक्षको समर्थन वा विरोधका रूपमा नभई संसदको मर्यादा, सांसदहरूको आचरण, संयमता र राजनीतिक संस्कारको प्रश्नका रूपमा उठाएको स्पष्ट पारेका छन्।
उनका अनुसार संसद समाजलाई उचित संस्कार, शैली, सभ्यता, सहिष्णुता र जिम्मेवार अभिव्यक्तिको सन्देश दिने सर्वोच्च राजनीतिक मञ्च हो। संसदलाई आक्रोश, असभ्य भाषा, उत्तेजना, घृणा तथा गालीगलौजलाई सामान्यीकरण गर्ने थलो बनाउन नहुने उनले बताएका छन्।
पछिल्ला दिनमा संसदभित्र र बाहिर सांसदहरूबाट व्यक्त भइरहेका अभिव्यक्ति तथा देखिएका व्यवहारले जनतामा संसद र सांसदप्रतिको सम्मान, विश्वास तथा भरोसा कमजोर हुने चिन्ता बढाएको समेत बर्तौलाले उल्लेख गरेका छन्।
त्यसैले सभामुखको आसनबाटै यस्ता शब्द तथा अभिव्यक्तिमा आवश्यक लगाम लगाउँदै संसदको गरिमा र मर्यादा कायम गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने उनले बताएका छन्।











प्रतिक्रिया