काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले बुधबार पदबहाली गर्नुभएको छ। पदबहालीपछि उहाँसँग महानगरपालिकामा परिचयात्मक कार्यक्रमसमेत आयोजना गरिएको छ।
पदबहालीका क्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्यालबाट चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, सुशासन प्रवर्द्धन, अन्तरसरकार समन्वय तथा महानगरवासीका अपेक्षा पूरा गर्ने गरी कुशल र नतिजामुखी नेतृत्वको अपेक्षा गर्नुभएको छ।

कार्यकक्षमा भेटका लागि पुग्नुभएका प्रमुख प्रशासकीय अधिकृत अर्याललाई स्वागत गर्दै कार्यवाहक प्रमुख डंगोलले कर्मचारी परिचालन तथा व्यवस्थापनमा समन्वयकारी नेतृत्व आवश्यक रहेको बताउनुभयो।
“सेवा प्रवाह तथा अनुशासित र मर्यादित कर्मचारी प्रशासनका लागि समन्वयकारी नेतृत्व आवश्यक छ,” उहाँले भन्नुभयो, “पार्किङ व्यवस्थापनका लागि बहुतले पार्किङ स्थल निर्माण, भृकुटीमण्डपमा मेगाहल निर्माण, नेपाल सरकारसँग यसअघि भएका सम्झौताबमोजिम प्राप्त गर्नुपर्ने सम्पत्ति प्राप्त गर्ने लगायत ठूला आयोजना सञ्चालनका लागि संघीय सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्नेछ।”
कार्यवाहक प्रमुख डंगोलले कर्मचारी र जनप्रतिनिधिबीच समन्वय तथा सहजीकरण गर्नुपर्नेमा जोड दिँदै केही सुस्त गतिमा रहेका योजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने बताउनुभयो।
“यहाँको कार्यकाल महानगरवासीका लागि फलदायी बन्नेछ र महानगरपालिकाको सार्वजनिक छवि उच्च बनाउनमा स्मरणीय हुनेछ भन्ने अपेक्षा छ,” उहाँले भन्नुभयो।
वि.सं. २०६६ सालमा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गर्नुभएका अर्याल २०७३ सालमा उपसचिव र २०८० सालमा सहसचिव हुनुभएको हो। उहाँ पछिल्लो एक वर्षदेखि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यसअघि उहाँले लुम्बिनी प्रदेशको रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो।
मन्त्रिपरिषद्को साउन २० गतेको निर्णयअनुसार अर्याल पोखरा महानगरपालिकाबाट काठमाडौँ महानगरपालिकामा सरुवा हुनुभएको हो।
यसैबीच, महानगरपालिकाले आजै नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्यालसँग परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा उहाँले काठमाडौँ महानगरपालिकालाई स्थानीय सुशासन, स्वशासन, विकास र व्यवस्थापनको सिकाइ केन्द्रका रूपमा विकास गर्ने गरी कर्मचारी प्रशासनको नेतृत्व गर्ने बताउनुभयो।

“काठमाडौँबाट अहिले पनि धेरै पालिकाले धेरै कुरा सिकिरहेका छन्। महानगरपालिकाका अन्य कामलाई पनि सिकाइयोग्य बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “यसका लागि कर्मचारी तटस्थता हाम्रो मुख्य आचरण हो। कर्मचारीका आचार र आचरणमा कतै पनि कमजोरी हुन दिनुहुँदैन।”
उहाँले उपभोक्ताको छनोट तथा आवश्यकताका आधारमा सामूहिक निर्णयमार्फत कार्यक्रम कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो। यस्तो प्रक्रियाबाट विकासका कार्यक्रमको लाभ सबै क्षेत्रमा पुग्ने उहाँको भनाइ थियो।
यसअघि सरोज गुरागाईं काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो। उमेर हदका कारण उहाँ साउन २० गते अनिवार्य अवकाशमा जानुभएपछि अर्याललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो।











प्रतिक्रिया