संयुक्त राष्ट्रसंघले सन् २०२२–२०३२ लाई विश्व आदिवासी भाषा दशक घोषणा गरेको छ । संविधानको प्रस्तावनामा नै बहुभाषिक भनिएको नेपालले यो घोषणालाई अवसरमा परिणत गर्न अपेक्षाकृत गम्भीर बन्न सकिरहेको छैन भने समुदाय स्तरमा गैरसरकारी स्तरमा यससम्बन्धी बहस निरन्तर भइरहेको छ । यसै सन्दर्भमा भाषा बचाउनको लागि पत्रकारिताको भूमिकालाई लिएर बहस हुन थालेको छ । पत्रकारिताले सार्वजनिक सरोकार र समसामयिक विषयमा सूचना र विचार पस्किने क्रममा जुन भाषामा पत्रकारिता गरिरहेको छ, त्यसको संरक्षणमा पनि प्रकारान्तरले टेबा पु¥याएको हुन्छ ।
जुन–जुन भाषाबाट पत्रकारिता भइरहेको छ, त्यसबाट ती भाषाको जगेर्नामा केही न केही योगदान अवश्य पु¥याइरहेको हुन्छ । यस अर्थमा पत्रकारिताको समाजमा सूचना सम्प्रेषणसँगै भाषा जगेर्नामा पनि महत्वपूर्ण भूमिका रहने गर्दछ ।
नेपालमा पत्रकारिताको बहसको सन्दर्भमा यो पक्ष आम विमर्श विषय बन्न सकेको छैन । यही परिप्रेक्ष्यमा काठमाडौंमा सोमबारदेखि शुरु तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनले यससम्बन्धी बहसलाई बृहत् बनाउँदै नीतिगत तहसम्म पु¥याउन टेवा पु¥याउने विश्वास गर्न सकिन्छ । तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनसम्म आइपुग्दा यसले अभियानकै स्वरुप लिएको जस्तै देखिन्छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आयोजना गरेको यो सम्मेलनका क्रममा हुने बहसले विशेष गरी इतिहासको लामो समयसम्म राज्यको प्राथमिकताबाहिर पारिएका विभिन्न भाषामा गरिने पत्रकारितालाई प्रवद्र्धन गर्न र त्यसले भाषाको जगेर्नामा थप योगदान दिन सक्ने वातावरण तयार गर्नेछ ।
मानव समाजको विकासक्रममा प्रकृतिसँग संघर्ष गर्दागर्दै हजारौँ वर्ष लगाएर एउटा भाषा बनेको हुन्छ । हो, भाषाको उत्पत्तिसँगै मानिस–मानिसबीच भावना, विचार र अभिव्यक्ति साटासाटमा सहज भयो । तर भाषाको भूमिकालाई यति हदसम्म मात्र बुझ्नु उपयुक्त हुँदैन । हजारौँ वर्ष लगाएर उत्पत्ति भएको भाषा, त्यसको हजारौं वर्षको प्रयोगमा मानव समाजले सिर्जना गरेका अनेकौं ज्ञानहरुको संग्रह पनि भाषाले गरिरहेको हुन्छ । जीवनमा उपयोगी अनेक व्यावहारिक ज्ञानदेखि त्यसले अविष्कार गरेका अनेक प्रविधि, दर्शन, संस्कार र परम्परा सबै भाषामा निहित रहेको हुन्छ । मानिसले सोच्ने तरिका, समाज व्यवहारको तौरतरिका पनि तिनै भाषाले भण्डारण गरेको हुन्छ ।
भाषाको लोपसँगै ती ज्ञानका भण्डार, मानवले बाँच्ने क्रममा प्रकृतिसँग गरेका संघर्ष, जीवनका लागि विकसित आवश्यक ज्ञान पनि लोप भएर जानेछ । अतः कुनै पनि भाषा लोप हुनु भनेको सभ्यता र ज्ञान लोप हुनु हो । कुनै पनि भाषाको मृृत्यु विश्वका मानव जातिको एउटा हिस्साको सभ्यता पनि मर्नु हो । यस दृष्टिले हेर्दा भाषाको संरक्षण सभ्यताको संरक्षण गर्नु हो । राज्यको उत्पत्तिसँगै राज्यको प्राथमिकताका कारण कुनै भाषाको प्रयोगको व्यापकता र कुनै भाषा लोप हुने क्रममा रहनु नेपालको मात्र नभई विश्वकै एउटा यथार्थ हो । अतः भाषा जोगाउने अभियानमा पत्रकारिताको बहस अत्यन्त आवश्यक छ ।
नेपालको संविधानमा नेपालमा बोलिने सबै भाषाहरु राष्ट्रभाषा भनिएको छ । यस हिसाबले मातृभाषाको पत्रकारिताको महत्वलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने खाँचो छ । त्यसै गरी मातृभाषाबाट गरिने पत्रकारिता सम्बन्धित समुदायको लागि आवाज पु¥याउने केवल माध्यम मात्र होइन, शक्तिहीनको आवाज मात्र नभई स्वयं शक्ति पनि हो । मातृभाषाको पत्रकारिताले यो विषयलाई केन्द्रविन्दुमा राखेको छ । जुन भाषामा लेखपढ हुन्छ, त्यो भाषा जगर्ना हुने हो । मातृभाषाको पत्रकारिताले प्रत्येक नेपालीलाई आफ्नो भाषामा सुसूचित गराउने मात्र नभई संविधानले लिएको समावेशी, लोकतन्त्र, संघीयतालाई बलियो बनाउनसमेत टेबा पु¥याउनेछ ।











प्रतिक्रिया