अपराधको बदलिँदो अनुहार : परम्परागतभन्दा साइबर र लागुऔषधको चुनौती बढी


काठमाडौं ।

नेपाल प्रहरीले पछिल्ला तीन आर्थिक वर्षको अपराधसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै गम्भीर तथा जघन्य अपराधमध्ये केही घटे पनि जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध, चोरी र साइबर अपराधका घटना बढ्दो क्रममा रहेको जनाएको छ।

आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभि नारायण काफ्लेले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्तव्य ज्यानका घटना ५०६ वटा दर्ता भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा यस्तो संख्या ५७६ र २०८१/८२ मा ५२० थियो।

तर जबरजस्ती करणीका घटना भने पुनः बढेका छन्। २०८०/८१ मा २ हजार ५०७ वटा मुद्दा दर्ता भएकोमा २०८१/८२ मा २ हजार २५३ मा झरेको थियो। २०८२/८३ मा भने बढेर २ हजार ३७० पुगेको प्रहरी तथ्यांकमा उल्लेख छ।

त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा २०८०/८१ मा १५१ वटा रहेकोमा २०८१/८२ मा १५२ र २०८२/८३ मा बढेर २११ वटा पुगेको छ।

अपहरणका घटना भने तीन वर्षमा क्रमशः १४५, १४२ र १४४ वटा दर्ता भएका छन्। ज्यान मार्ने उद्योगका घटना भने १ हजार १९ वटा रहेकोमा २०८१/८२ मा १ हजार ८१ र २०८२/८३ मा उल्लेख्य बढेर १ हजार ३३१ पुगेका छन्।

लागुऔषध र चोरीमा पनि वृद्धि

प्रहरीको तथ्यांकले लागुऔषधसम्बन्धी अपराधमा निरन्तर वृद्धि देखाएको छ। २०८०/८१ मा ४ हजार ३९९ वटा मुद्दा दर्ता भएकोमा २०८१/८२ मा ५ हजार ६१ र २०८२/८३ मा ५ हजार ६९९ वटा पुगेका छन्।

त्यसैगरी चोरीका घटना २०८०/८१ मा ३ हजार ७६८ बाट घटेर २०८१/८२ मा ३ हजार ६६६ पुगे पनि २०८२/८३ मा पुनः बढेर ४ हजार १०४ पुगेका छन्।

साइबर अपराध पनि तीव्र रूपमा बढेको प्रहरी तथ्यांकले देखाएको छ। २०८०/८१ मा २५५ वटा साइबर अपराध दर्ता भएकोमा २०८१/८२ मा २९९ र २०८२/८३ मा ४०९ वटा मुद्दा दर्ता भएका छन्।

हातहतियार खरखजानासम्बन्धी मुद्दा २०८०/८१ मा २०३, २०८१/८२ मा १८१ र २०८२/८३ मा २२१ वटा दर्ता भएका छन्।

आत्महत्यामा फेरि वृद्धि

प्रहरीको तथ्यांकअनुसार आत्महत्याका घटना पनि चिन्ताजनक अवस्थामा छन्। २०८०/८१ मा ७ हजार १९४ जनाले आत्महत्या गरेको तथ्यांक रहेकोमा २०८१/८२ मा यो संख्या घटेर ६ हजार ८५२ पुगेको थियो। तर २०८२/८३ मा पुनः बढेर ७ हजार १९४ पुगेको छ।

सार्वजनिक हितसम्बन्धी कसुर भने २०८०/८१ मा १० हजार ७५६ रहेकोमा २०८१/८२ मा ८ हजार ५९१ र २०८२/८३ मा ८ हजार ७०७ वटा दर्ता भएका छन्।

उपत्यकामा सबैभन्दा बढी कसुर दर्ता

प्रदेशगत तथ्यांकमा काठमाडौं उपत्यका सबैभन्दा अगाडि रहेको छ। आर्थिक वर्ष २०८२/८३ मा उपत्यकामा ६ हजार २२२ वटा कसुर दर्ता भएका छन्।

त्यसपछि कोशी प्रदेशमा १ हजार १५७, मधेस प्रदेशमा १ हजार ७५७, लुम्बिनी प्रदेशमा १ हजार २१८, बागमती प्रदेशमा १ हजार २३, गण्डकी प्रदेशमा ९९४, सुदूरपश्चिम प्रदेशमा ४२६ र कर्णाली प्रदेशमा ३५५ वटा कसुर दर्ता भएको प्रहरीको तथ्यांक छ।

समग्र तथ्यांकले हत्या तथा केही गम्भीर अपराध नियन्त्रणतर्फ सुधार देखिए पनि यौन हिंसा, लागुऔषध, साइबर अपराध, चोरी तथा ज्यान मार्ने उद्योगजस्ता अपराध चुनौतीका रूपमा कायमै रहेको देखाएको छ। प्रहरीले अपराधको प्रकृति परिवर्तन हुँदै गएको भन्दै प्रविधिमा आधारित अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउने आवश्यकता औंल्याएको छ।