३२ औँ विश्व आदिवासी जनजाति दिवसको सम्पूर्ण तयारी पूरा 


काठमाडौं । 

नेपाल आदिवासी जनजाति महासंघले ३२ औँ विश्व आदिवासी दिवसको तयारी पूरा भएको जानकारी दिएको छ।

महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी तयारी पूरा भएको जानकारी दिएको हो।संयुक्त राष्ट्रसंघको घोषणा बमोजिम प्रत्येक वर्ष अगस्ट ९ तारिखमा विश्वभर आदिवासी दिवस मनाउने गरिएको छ ।

महासंघले यसवर्षको आदिवासी दिवस प्राप्त अधिकार रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता भन्ने मूल नारासहित देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागेको हो।

महासंघका अध्यक्ष निमा लामा हयोल्मोले संविधानमा प्राप्त अधिकारको रक्षा एवम कार्यान्वयन, पहिचानसहितको समृद्ध नेपाल निर्माण गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले आदिवासी दिवसको मूल समारोह काठमाडौंको खुलामञ्चमा आयोजना हुन लागेको जानकारी दिनुभयो ।

सो अवसरमा महासंघका महासचिव विमल सारु मगरले जानकारी दिनुभयो।संविधानले परिकल्पना गरेको समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसर मर्मअनुसार आदिवासी जनजातिहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु हालको आवश्यकता रहेको उहाँले बताउनुभयो।

महासचिव मगरका अनुसार विश्व आदिवासी दिवसको अवसरमा २४ साउनमा देशभरिका आदिवासी तथा जनजातिहरू आफ्नै मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा परम्पराागत नृत्यसहित काठमाडौंको भृकुटीमण्डपमा सहभागी हुनेछन्।भृकुटीमण्डपबाट ¥यालीसहित भद्रकाली, सहिदगेट, सुन्धारा, वीर अस्पताल लगायतका मुख्य सडकको परिक्रमा गरी टुँडिखेलथित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ।मूल समारोहको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।मूल समारोहमा आदिवासी जनजातिहरूको मौलिक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिने महासचिव मगरले जानकारी दिनुभयो।

त्यसैगरी मौलिक रैथाने परिकार, परम्परागत खाद्य संस्कृति, हस्तकला, स्थानीय उत्पादन लगायतको विक्रीवितरण सहितको प्रदर्शनी हुने हुनेछ।कार्यक्रममा विज्ञहरूसंंग आदिवासी जनजातिका सवाल, अधिकार, भाषा, संस्कृति, पहिचान लगायतका विषयमा प्यानल छलफल समेत हुनेछ । महासंघले सप्ताहव्यापी रूपमा विविध कार्यक्रम समेत आयोजना गर्ने जनाएको छ । आदिवासी जनजातिहरूको भाषा, संस्कृति, सम्भयता, इतिहास, परम्परागत ज्ञान, भूमि तथा प्राकृतिक स्रोतसंगको सम्बन्ध संरक्षण गर्नु राष्ट्रको साझा दायित्व भएको महासंघले बताएको छ।महासंघले संविधानमा व्यवस्था भएका समानुपातिक समावेशी प्रतिनिधित्व, सामाजिक न्याय, समान अवसर, मातृभाषाको संरक्षण, सांस्कृतिक अधिकार, पहिचान तथा आदिवासी जनजातिहरूको सम्मानजनक सहभागिताको पूर्ण कार्यान्वयन गर्न सरकारसंग माग गरेको छ।

दिवसको अवसरमा महासंघसहित राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल (निडवान),नेपाल मगर संघ, आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,आदिवासी जनजाति युवा महासंघ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ लगायतका संस्थाले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै आएको छ।विगत ३२ वर्षदेखि संयुक्त राष्ट्र संघको घोषणा बमोजिम प्रत्येक वर्ष अगस्ट ९ का दिनमा विश्वभर आदिवासी दिवस मनाउने गरिएको महासंघले जनाएको छ।