बैंककबाट काठमाडौं आउँदै गरेका दुई भारतीय महिला ८ केजी गाँजासहित त्रिभुवन विमानस्थलबाट पक्राउ


काठमाडौं ।

बैंककबाट काठमाडौं आएका दुई भारतीय महिला ८ किलोग्राम गाँजासहित पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोलीले बिहीबार थाई एयरवेजको उडान नम्बर ३०९ मार्फत थाइल्यान्डको बैंककबाट नेपाल आएका दुई महिलालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार नियमित प्रोफाइलिङ तथा सुरक्षा जाँचका क्रममा उनीहरूले ल्याएको सुटकेसभित्र लुकाएर राखिएको थाइल्यान्डको गाँजा बरामद गरिएको हो। दुवै जनाको साथबाट कुल ८ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भारतको मणिपुर राज्यकी २० वर्षीया मोना देवी लोङजामर २३ वर्षीया ओइनाम एली रहेका छन्।

उनीहरूको साथबाट दुई थान राहदानी र दुई थान मोबाइल फोन पनि बरामद गरिएको छ।

प्रहरीले दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको जनाएको छ।