लापरबाहीले विपत्ति निम्त्याइरहने पोखराको फेवाताल

0
Shares

पोखरा । शान्त फेवाताल । तालैभरि पर्यटक डुंगा सयरमा रमाउँदै । यो फेवाको दैनिकी हो, जहाँ विश्वभरका पर्यटकहरु रमाउँछन्, घुम्छन् अनि मन्त्रमुग्ध हुन्छन् । फेवाताल जति सुन्दर छ, यहाँ हुने विपद् उत्ति नै दर्दनाक छ ।

झट्ट हेर्दा फेवाताल सुरक्षित नै देखिन्छ । तालबाराही मन्दिर जाने घाटमा सशस्त्र प्रहरीको टावर छ, जसले पर्यटकलाई ढुक्कको आभास दिइरहेकै हुन्छ । त्यो टावर आइपर्न सक्ने विपद्मा उद्धार गर्नका लागि बनाइएको हो, जसको नेतृत्व सशस्त्र प्रहरी बलले गर्छ भने नजिकै आर्मीको समेत उद्धार टोली छ । २४ घण्टा सुरक्षा निकाय तयार हुन्छ । सशस्त्र प्रहरीको गोताखोरसहितको टोली तयार अवस्थामा हुन्छ । घटनाबारे थाहा पाउनेबित्तिकै उनीहरु रवाना भइहाल्छन् । यति गर्दासमेत कतिपयको ज्यान जोगाउन मुस्किल हुन्छ । महिनैपिच्छे फेवामा दुर्घटना भइरहेकै हुन्छन् । गत महिना पनि सशस्त्र प्रहरीले एकदिन बिहान ३ बजे एक युवालाई तालबाट निकाल्यो ।

साथीसँग मापसे गरी पौडी खेल्न पुगेका पोखरा ११, काहुँखोलाका रिवाज गुरुङ डुबेपछि उनको मृत्यु भयो । एपीएफको टोली तत्कालै उनको खोजीमा लाग्दा उनको शव निकाल्यो । यस्तै, काठमाडौंबाट पोखरा घुम्न आएका दुईजना तालको बीचमा फसे । वर्ष ३४ का अनुज पुरी र वर्ष २८ की सिवानी खड्का कायकिङ गरिरहँदा तालमा फसे । उनीहरुको सशस्त्र प्रहरीले तत्कालै उद्धार ग¥यो ।

यसै गरी २०७९ फागुनमा परिवारसहित पोखरा १ बगरकी ७० वर्षीया याममाया गिरी फेवाताल घुम्न जाँदा दुर्घटनामा परिन् । ६ जना सवार डुंगा दुर्घटना हुँदा लाइफ ज्याकेट लगाएकी गिरीको मृत्यु भयो । अचानक हावाहुरी आएपछि तालबाराही मन्दिरको दक्षिणी भेगमा एक्कासी डुंगा पल्टिएको थियो । अलि अगाडिकै कुरा गर्ने हो भने, वि.सं. २०१८ सालमा डुंगा दुर्घटनामा परी स्थानीय घाँस–दाउरा गर्ने १९ जनाको एकैचोटि मृत्यु भयो । २०४३ सालमा पनि वनभोज खाएर फर्कंदै गरेका १८ जनाको एकैचोटि ज्यान गयो । २०६१ सालको असोज १० गते डुंगा दुर्घटना हुँदा ६ जना सुरक्षाकर्मीले ज्यान गुमाए ।

यस्तै, २०७३ साउनमा ८ जना सवार डुंगा पल्टिँदा २ जनाको मृत्यु भयो । उनीहरुको हराएको २ दिनपछि मात्रै शव फेला परेको थियो । २०८१ वैशाखमा पाँचजना सवार डुंगा दुर्घटना भयो । पाँचैजनाको सकुशल उद्धार गरियो । २०८२ वैशाखमा सातजना सवार डुंगा दुर्घटना भयो । सातैजनाको सकुशल उद्धार गरियो । २०८३ वैशाख २४ गते चारजना भारतीय सवार डुंगा अलपत्र परेपछि सशस्त्रले उद्धार ग¥यो । यी बाहेक तालमा डुबेर पछिल्लो एक दशकमा ४४ जनाको अकालमा ज्यान गएको छ भने ५३८ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
यी मध्ये अधिकांश डुंगा दुर्घटनाका कारण ज्यान गुमाएका घटना हुन् । फेवातालमा १ बजेपछिको समय घातक मानिन्छ । विशेष गरी चैतदेखि जेठसम्म हावाहुरीकै समय भएकाले २ बजेपछि फेवातालमा डुंगा सयर गर्नु भनेको मृत्युलाई आमन्त्रण गर्नुजस्तै हो, जुन विभिन्न घटनाको तथ्यांकले प्रस्ट पार्ने गरेको छ । यसले व्यवसाय गर्नेलाई राम्रो आम्दानी दिँदै गर्दा मनोरञ्जनका लागि जानेको खुशी नै समाप्त पार्न सक्ने सम्भावना पनि देखिएको छ ।

२०६९ सालमा निर्माण भएको ३२ फिट अग्लो टावरबाट तालको चारैतिर अवलोकन गर्न सकिन्छ । पर्यटन व्यवसायी गणेश भट्टराईले व्यवसायका लागि सुरक्षालाई बिर्सन नहुने सुनाउँछन् । वाटर स्पोट्र्स प्रशिक्षण गरेका दक्ष व्यक्ति हुनुपर्ने उनको तर्क छ । अहिले फेवातालमा धमाधम घरहरू बनाउन दिएजस्तै ताल नै कुरुप बन्ने गरी जथाभावी व्यवसाय गर्न नहुने उनको भनाइ छ । राज्यले व्यवसाय गर्न दिनुपर्छ तर, नियमनसमेत गर्नुपर्नेमा उनको जोड छ । तालमात्र नभई तालछेउको सडकसमेत असुरक्षित रहेको छ । अनुमति नभएका र दर्ता नभएकाले समेत लेकसाइडमा मादक पदार्थ बिक्री गर्दै आइरहेको र त्यही सेवन गरेर तालमा जाँदा दुर्घटना हुने गरेको उनी सुनाउँछन् । चालकहरूले खान नहुने उनी सुनाउँछन् ।

‘पहिला त डुंगा घाटहरु बनाउनुपर्छ । अहिले स्पोट्र्स कायकिङ आएको छ, त्यसलाई पनि क्षेत्र दिनुपर्छ । पानी निकै जोखिमयुक्त हो, पानीमा जानेले पौडी जानेकै हुनुपर्छ तर, नजान्नेले नजाने भन्ने होइन, उनीहरु पौडी खेल्न जान्ने वा चालक लिएर जानुपर्छ’, भट्टराईले भने, ‘व्यवसायसँगसँगै सुरक्षालाई ध्यान दिनुपर्छ । प्राथमिक उपचारको विषयमा थाहा हुनुपर्छ । घटना हुन नदिन जसले जहाँ मन लाग्यो त्यहाँ डुंगा राख्न पाइएन ।’

अचानक मौसम किन फेरिन्छ ?
पोखरामा मौसम फेरबदल हुनु यहाँको लागि सामान्य हो । एकातिर प्रचण्ड घाम र अर्कातिर भीषण वर्षा पनि पोखरामै हुन्छ । चर्को घाम लाग्दा लाग्दै अचानक भारी वर्षा पनि हुन्छ । यसको कारण पोखराको भूबनोट पनि हो । भूगर्भविद् डा. विश्व श्रेष्ठले न्यून चाप भएको ठाउँमा उच्च चापको हावा आउँदा छिटो बहने र सोही समयमा वाष्पीकरण भएर पानी पर्ने गरेको बताउनुहुन्छ ।

‘हावा–पानीको न्यून चाप पर्न जान्छ र उच्च चापमा हावा बहन्छ । न्यून चाप भएको ठाउँमा उच्च चाप भएको हावा आउँदा छिटो बहन्छ र यही समयमा वाष्पीकरण भएर पानी पर्ने हो । भूमध्य सागरको बाफ (पश्चिमी वायु) आउँछ र त्यो आउँदा मनसुन आउने सिजन छैन, अहिले वर्षा गराउने, असिना पार्ने, चट्टान पर्ने यो सबै पश्चिम वायुको कारण हो’, उहाँ भन्नुहुन्छ, ‘१२–१ बजेपछि वन, पानी भएको ठाउँमा नजाने भनेर सामान्यतया भनिन्छ हाम्रो अनुभवमा । पहिरो पनि आउँछ तर त्यो कहिलेकाहीँ हुन्छ ।’

हिमालदेखि पोखराको हवाई दूरी भनेको २५ किलोमिटर मात्रै छ । हिमालको नजिकै यति सुन्दर शहर संसारमा अरू छैनन् । त्यो सँगसँगै हामीले हेर्दाखेरि पोखराको मौसम अथवा पोखराको चाहिँ भूगोललाई हेर्दाखेरि ७–८ सय वर्षपहिलाबाट पोखरा उत्पत्ति भएको एउटा जोग्राफिकल प्रमाण छ । जुन हिमालबाट बगेर अथवा त्यहाँबाट एभलेन्चेबाट (हिउँपहिरो) निस्केर आई पोखरा उपत्यका बनेको देखिन्छ । ८ सय वर्ष पुरानो इतिहासलाई हेर्दा पुरानो इतिहास छैन ।

सुरक्षाको मापदण्डमा कमी
फेवातालमा सामान्य सुरक्षाको मापदण्डसमेत पालना नगरेको भेटिन्छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लामा हुने विपद्का घटनामा मृत्यु हुनेमध्येको एक तिहाइ फेवातालमै रहेको बताउनुहुन्छ । फेवातालमा ७८० काठका डुंगा र २८० सर्फेसिङ बोट (कायक) रहेका छन् । उनका अनुसार कुनै पनि सुरक्षाको मापदण्ड त्यहाँ पालना भएको छैन । त्यो बाहेक होटलमा निकै मादक पदार्थ सेवन गर्ने र पौडी खेल्ने गरेको समेत भेटिएको छ ।

‘कतिपय दर्ता भएका छैनन्, मापदण्डको पालना भएको पनि छैन, लाइफ ज्याकेट गुणस्तरको छैन । र, जसले डुंगा चलाइराख्नुभएको छ, उहाँहरूको रेस्क्यु ट्युबहरू छैनन् । विविध किसिमका समस्याहरू देखिएका छन्,’ उहाँले भन्नुभयो, ‘यहाँ चल्ने डुंगाहरू मापदण्डअनुसार सञ्चालन होऊन्, लाइफ ज्याकेट पनि क्वालिटीको होस् । एउटैले धेरै मात्रामा चलाएको देखियो । कुनै पनि सुरक्षाको मापदण्ड पालना गरेको देखिँदैन । त्यो बाहेक होटलहरूको स्विमिङ पुलमा समेत अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेर स्विमिङ गरेको भेटियो ।’

प्रत्येक वर्ष चारजनाले ज्यान गुमाउँछन् फेवामा
सशस्त्र प्रहरीको तथ्यांकअनुसार फेवातालमा ११ वर्षमा ४४ जनाको मृत्यु हुँदा ५३८ जनाको उद्धार गरिएको छ । यो भनेको वर्षमा चारजनाले ज्यान गुमाएको देखिन्छ । कालिका गण मालेपाटनका सूचना अधिकारी तुलसीराम पाण्डेयले दिएको तथ्यांकअनुसार वि.सं. २०७१ मा ६९ जनाको उद्धार भएको थियो भने ४ जनाको मृत्यु अनि ०७२ सालमा ७५ जनाको उद्धार हुँदा ३ जनाको मृत्यु भएको थियो । यस्तै ०७३ सालमा १२ जनाको उद्धार हुँदा ३ जनाको मृत्यु भयो, ०७४ सालमा ९२ जनाको उद्धार हुँदा ३ जनाले ज्यान गुमाए, ०७५ सालमा ८१ जनाको उद्धार गरियो भने ७ जनाले ज्यान गुमाए, ०७६ सालमा १० जनाको उद्धार भयो भने ३ जनाको मृत्यु भएको थियो ।

यसै गरी ०७७ सालमा १३ को उद्धार ४ को मृत्यु, ०७८ मा १४ को उद्धार ४ को मृत्यु भएको थियो । ०७९ सालमा १० जनाको उद्धार गरिँदा १ जनाको मृत्यु भएको थियो, ०८० सालमा ७४ जनाको उद्धार गर्दा ६ जनाको मृत्यु भएको थियो । यस्तै ०८१ सालमा ४८ जनाको उद्धार हुँदा ३ जनाको मृत्यु भयो भने ०८२ सालमा ४० जनाको उद्धार गर्दा ३ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीको यो तथ्यांकलाई आधार मान्दा प्रत्येक एक सय जनामा ७–८ जनाले ज्यान गुमाउने देखिन्छ ।

हरेक वर्ष नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त अभ्याससमेत गर्दै आउने गरेका छन् । कास्की जिल्लामा हुने विपद्जन्य घटनामा सबैभन्दा बढी मृत्यु फेवातालमा डुबेर हुने गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार विपद्जन्य घटनामा तालमा डुबेर मृत्यु हुने एक तिहाइ छन् । तर, सुरक्षा निकायसँग आवश्यक सामग्री भने छैन । जेनतेन सुरक्षा निकायले धानिरहेकै छन् ।