फुटबलरहरूमा शारीरिक र मानसिक स्वास्थ्य समस्या आउने


लन्डन, (एजेन्सी) ।

फुटबल खेल्ने शारीरिकलाई मात्रै होइन मानसिक स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । तर, एक अध्ययनले यो सुन्दर खेलसँग डरलाग्दो कुरा सार्वजनिक गरेको छ । अनुसन्धानमा आएको वास्तविक कुरा यो छ कि खेलाडीहरूमा धेरै प्रकारको समस्या आउने गर्दछ ।

अनुसन्धानको रिपोर्टअनुसार ३० देखि ६० वर्षको उमेरमा आमनागरिकलाई भन्दा खेलाडीहरूमा डिप्रेशन (नैराश्यता), एंग्जायटी (चिन्ता) र सोच्ने क्षमतामा कमी आउने गरेको पाइएको छ । इम्पीरियल कलेज अफ लन्डनद्वारा गरिएको यो अध्ययनको नतिजा हालै अल्जाइमर एसोसिएसन इन्टरनेसनल कन्फ्रेन्समा पेश गरेको थियो । यस अनुसन्धानमा ३० देखि ६० वर्ष उमेरका १ सय २४ पूर्व व्यावसायिक खेलाडीहरूको दिमागको परीक्षण गरेको थियो ।

यसमा इंग्लिस प्रिमियर लिग, च्याम्पियनसिप र महिला सुपर लिगका पूर्व खेलाडीहरूलाई सामेल गराएको थियो । ३१ प्रतिशत पूर्व फुटबलरहरूमा गम्भीर डिप्रेशनका लक्षण पाइएको उल्लेख गरिएको थियो । यो तथ्यांक कहिले पनि खेल नखेलेका तुलनामा २२ प्रतिशतले ज्यादा हो ।

एंग्जायटीको मामिलामा पनि ४२ प्रतिशत पूर्व खेलाडीहरूमा यसको गम्भीर लक्षण देखिएको थियो । जबकी साधारण व्यक्तिहरूमा यो तथ्यांक २५ प्रतिशत मात्रै रहेको सो अध्ययनले खुलासा गरेको थियो ।

विशेषज्ञहरूले बताए कि हेडरको कारण टाउकोमा हुने चोटले पछि गएर क्रोनिक ट्रामेटिक एन्सेफैलोपेथी जस्तो गम्भीर न्यूरोलोजिकल रोग निम्तिने गर्दछ । यो रोगले मानसिक सन्तुलन बिगार्ने र स्मरण शक्ति पूरै नष्ट गराउँछ । गोर्डन मेक्वीन र जेफ एस्टल जस्ता दिग्गज खेलाडीहरूको निधन पनि टाउकोमा लागेको चोटले नै भएको थियो ।

बच्चाहरूलाई हेडर गर्न प्रतिबन्ध

यो खतरालाई देखेर अहिले इंग्ल्यान्ड, स्कटल्यान्ड र नर्दन आयरल्यान्डमा बच्चाहरूलाई फुटबलमा हेडर गर्न प्रतिबन्ध लगाइएको छ । उनीहरूलाई मात्रै होइन व्यवसायिक खेलाडीहरूका लागि पनि प्रशिक्षणमा हेडर कम गर्न निर्देशन जारी गरेको छ ।