आगामी वानडे विश्वकप नयाँ ढाँचामा हुने


लन्डन, (एजेन्सी) ।

आईसीसीले २०२७ मा हुने पुरुष वानडे विश्वपको ढाँचामा परिवर्तन गरेको छ । एडिनबर्गमा भएको आईसीसीको साधारण बैठकपछि नयाँ नियमहरूको घोषणा गरिएको हो । आईसीसीको अनुसार यो परिवर्तन्को मुख्य उद्देश्य प्रतियोगिताको सुरुआती खेलहरूलाई अझ रोमाञ्चक र चुनौतीपूर्ण बनाउनु हो । यसले गर्दा कुनै पनि टोलीले सुरुआती चरणमै कसैलाई हल्का लिन सक्ने छैन ।

आगामी वानडे विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले आयोजना गर्दैछन् । यस प्रतियोगितामा कूल १४ टोलीले सहभागिता जनाउनेछन् । आईसीसीले यसपटक एक नयाँ सुपर सिरिज चरण प्रयोग गर्दैछ । जसमा सबैभन्दा तल्लो वरियतामा रहेको ती टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतिस्पर्धाबाट एक टोलीले मात्रै मुख्य समुह चरणमा स्थान प्राप्त गर्नेछ ।

१२ टोलीमा प्रतिस्पर्धा

दुई टोली बाहिरिएपछि प्रतियोगितामा कूल १२ टोलीले मात्रै मुख्य समूह चरणमा खेल्नेछन् । १२ टोलीलाई ६–६ संख्यामा दुई समूहमा बाँडिनेछ । समूह चरणपछि सुपर ७ चरणमा प्रवेश गरिनेछ । यो नै यस विश्वकपको एउटा नयाँ आकर्षण हुने आईसीसीको दावी छ ।
दुबै समूहबाट शीर्ष ३–३ टोली सीधै सुपर ७ मा पुग्नेछ । एक टोली (सातौं टोली) दुबै समूहका सबैभन्दा राम्रो प्रदर्शन गर्ने टोली हुनेछ । यसपछि सुपर ७ का शीर्ष चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् ।