काठमाडौं ।
सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडी तथा टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार दिने निर्णय गरेको हो ।
शिक्षा तथा खेलकुद मन्त्रालयको अनुसार राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ (दोस्रो संसोधन २०८२) अनुसार खेलाडी, प्रशिक्षक,सहायक प्रशिक्षक, व्यवस्थापक तथा फिजियोसहितको १ सय १ जनालाई कूल १० करोड ५१ लाख ४८ हजार ५ सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यसअघि पनि सरकारले नगद पुरस्कार प्रदान गर्ने गरिएको भएपनि यो रकम अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार रकम हो ।
राष्ट्रिय खेलकुद परिषद्को सिफारिसको आधारमा तयार गरिएको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगैं सम्बन्धित खेलाडी तथा नगद पुरस्कारसहित सम्मान गरिने भएको हो ।
प्रस्तावित पुरस्कार सूची
–मालदिभ्समा सम्पन्न १५ औं विश्व बडी बिल्डिङ एण्ड फिजिकल च्याम्पियनसिप २०२४ का पदक विजेता चार खेलाडी ।
–खो खो विश्वकप २०२५ मा रजत पदक जित्ने पुरुष र महिला टोलीका १८÷१८ खेलाडी ।
–यूडब्ल्यु एसियन बेल्ट रेस्लिङ २०२५ का कांस्य विजेता ३ खेलाडी ।
–मलेसियामा सम्पन्न १० औं एसियाली पारा तेक्वान्दो प्रतियोगिता २०२५ मा कांस्य पदक विजेता ३ खेलाडी ।
–चीनमा सम्पन्न छैटो एसियन बीच गेम्स २०२६अन्तर्गत बीच कबड्डी महिला टोलीका कांस्य विजेता ७ खेलाडी ।
–मलेसियामा सम्पन्न एसीसी पुरुष यू १६ इस्ट जोन कप २०२५ को स्वर्ण विजेताको १७ खेलाडी ।
–थाइल्यान्डमा सम्पन्न ५७ औं बडी बिल्डिङ एण्ड फिजिकल च्याम्पियनसिप २०२५ को कांस्य विजेता ।
–श्रीलंकामा भएको एसियन प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप २०२५ को स्वर्ण विजेता १ खेलाडी ।
–बहराइनमा सम्पन्न आईएसएफ जिम्नासियाड २०२४ का स्वर्ण र कांस्य विजेता ९ खेलाडी ।
–ओमानमा सम्पन एसीसी पुरुष इस्ट जोन छनोट २०२४ मा स्वर्ण विजेता विश्वकपमा छनोट भएका २० खेलाडी ।











प्रतिक्रिया