संसार गतिशील छ । यो गतिशीलताको मूल इन्जिन भनेकै ‘समयको चेत’ हो । आजको आधुनिक विश्वमा प्रत्येक पलको आफ्नै विशिष्ट मूल्य छ । संसारभरिका मानिसहरू हतारहतार आफ्नो गन्तव्यतर्फ दौडिरहेका छन् । क्षण–क्षणको हिसाब राखेर श्रम र सिर्जनामा जुटिरहेका छन् । यो हतारो केवल मानिसको दैनिकी र प्रविधिमा मात्र होइन, स्वयं प्रकृतिमा पनि प्रस्टै देखिन्छ ।
ऋतुहरूको चक्र, पालुवा पलाउनु, फूलहरू फुल्नु, फल लाग्नु र रुखहरू अग्ला हुनु, यी सबै प्रकृतिका नियमहरू एक निश्चित गति र हतारोका साथ अघि बढिरहेका हुन्छन् । प्रकृतिले कहिल्यै आफ्नो धर्म निर्वाह गर्न ढिलो गर्दैन, न त उसले समयलाई नै पर्खिन्छ । तर, विडम्बना भनुपर्छ, गतिशीलताको यो विश्वव्यापी महादौडमा हाम्रो देश नेपाल र यहाँको शासकीय एवं सामाजिक चरित्र भने कुनै गहिरो निन्द्रामा परेर ‘हतार’ शब्दकै अस्तित्वबाट विमुख भएजस्तो इतिहासले देखाउँछ । हाम्रो राष्ट्रिय नियति नै ढिलासुस्ती र अलमलको चक्रव्यूहमा फसेको आभास हुन्छ ।
विश्व मानचित्रमा इतिहासका विभिन्न कालखण्डमा नेपालसरहकै वा हामीभन्दा पनि जर्जर आर्थिक र सामाजिक अवस्थामा रहेका मुलुकहरूले समयको पदचापलाई चिन्न सकेकै कारण आज अकल्पनीय प्रगति हासिल गरिसकेका छन् । दोस्रो विश्वयुद्धको आणविक खरानीबाट उठेर आफूलाई प्रविधिको महाशक्ति र समृद्धिको शिखरमा पु¥याउन सफल जापान होस् वा केही दशकअघिसम्म चरम गरिबी र भोकमरीले ग्रस्त भएर पनि आज विश्व अर्थतन्त्रको नेतृत्व गर्ने दिशामा संसारकै सबैभन्दा तीव्र गतिमा अघि बढेको छिमेकी चीन होस्, समयको पदचाप समात्नेहरू इतिहासको नयाँ उचाइमा पुगेका छन् ।
बालुवाको मरुभूमिलाई आधुनिकता र विलासिताको स्वर्णिम हबमा रूपान्तरण गर्न सफल खाडी मुलुकहरू यसका ज्वलन्त उदाहरण हुन् । ती देशहरूले समयको महत्व बुझे र राष्ट्र निर्माणको एउटा पल पनि खेर फालेनन् । उनीहरूले देश बनाउने महाअभियानमा यस्तो सकारात्मक तहल्का मच्चाए कि आज संसार उनीहरूको प्रगतिको सामु नतमस्तक छ । तर, हामीकहाँ भने समय र सामथ्र्यको बर्बादीको एउटा अनन्त र निराशाजनक शृङ्खला चलिरह्यो, जहाँ सधैँको अलमल, अनिर्णय र ढिलासुस्ती नै हाम्रो राष्ट्रिय पहिचानजस्तो बन्न पुग्यो ।
नेपालको सन्दर्भमा राजनीतिक तन्त्रहरू फेरिनु कुनै नौलो विषय रहेन । निरंकुशताबाट प्रजातन्त्र, लोकतन्त्र हुँदै हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्यौं । व्यवस्था बदलियो, भूगोलको सीमाभित्र शासकहरू बदलिए र तन्त्रहरू पनि फेरिए । तर जतिसुकै ठूला राजनीतिक परिवर्तन भए तापनि देशको मूल प्रवृत्ति, सदाचार, सुशासन र समृद्धिको गतिले गति लिन सकेन । हामीले केवल प्रणालीको आवरण बदल्यौं, तर कार्यशैलीको आत्मा कहिल्यै बदलेनौं ।
नीतिगत तहदेखि कार्यान्वयनको पिँधसम्म एउटै रोग व्याप्त भयो– लामो, झन्झटिलो प्रक्रिया र निर्णयहीनता । जुनसुकै सरकारी कार्यालयमा जाँदा साधारण र छिटो हुन सक्ने कामलाई पनि हप्तौँसम्म झुलाउने, आलटाल गर्ने र फाइल अड्काएर बस्ने प्रवृत्ति एउटा गम्भीर प्रशासनिक दुराचारका रूपमा स्थापित भयो । राज्यका संयन्त्रहरू नागरिकको सेवाका लागि भन्दा पनि उनीहरूलाई दुःख दिने अखडाजस्ता देखिनु विडम्बनापूर्ण छ ।
यस गतिहीनताको सबैभन्दा कुरूप ऐना हाम्रा राष्ट्रिय गौरवका आयोजना र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा देखिन्छ । हाम्रा विकास योजनाहरू यति कछुवा गतिमा चल्छन् कि तिनको लागत र समय सीमाको कुनै ठेगान हुँदैन । वर्षौंसम्म अल्झिएर, अर्बाैंको बजेट सिध्याएर बल्लतल्ल एउटा पुल, सडक वा सार्वजनिक भवन बन्छ । तर, विडम्बनाको पराकाष्ठा के भने, त्यसरी जेनतेन बनेका संरचनाहरू पनि पहिलो वर्षाको सामान्य भेलसमेत थाम्न नसकी भत्किन्छन् वा छोटो समयमै जीर्ण बन्छन् ।
इन्जिनियरिङको गम्भीर त्रुटि, निर्माण व्यवसायीको चरम लापरबाही र नियामक निकायको कमिसनतन्त्रका कारण ती संरचनाहरू दोहो¥याएर, तेह¥याएर बनाउनुपर्ने अवस्था आउँछ । यो राष्ट्रिय स्रोत र नागरिकले रगत–पसिना बगाएर तिरेको करको सिधै हुर्मत लिनु हो । पटक–पटक एउटै काममा राज्यको सीमित स्रोत र साधन खर्चिनुपर्ने बाध्यताले देशलाई विकासको अग्रगामी बाटोमा होइन, विनाश र ऋणको गहिरो खाडलतर्फ धकेलिरहेको छ ।
कुनै पनि देशको माटो आफैंमा बन्ने वा बिग्रिने होइन, देश बनाउने जिम्मा त त्यहाँका नागरिक र उनीहरूको सामूहिक श्रम संस्कृति पनि हो । राष्ट्र निर्माणका लागि जनता जाँगरिला, अनुशासित, सचेत र कर्मशील हुनु अनिवार्य सर्त हो । तर, हाम्रो सामाजिक यथार्थको अर्को पाटो उत्तिकै निराशाजनक र चिन्ताजनक छ । आज देशका गाउँघरदेखि शहर–बजारसम्म नियालेर हेर्ने हो भने ऊर्जावान् समय र श्रम गर्नुपर्ने उमेरका धेरै मानिस अनुत्पादक कार्यमा आफ्नो अमूल्य समय फ्याँकिरहेका पनि भेटिन्छन् ।
काम गर्न अल्छ्याइँ गर्ने, जिम्मेवारीबाट पन्छिने र सिर्जनशील श्रममा लाग्नुको साटो टोल–टोलमा जमघट भएर बैठक बस्ने, खर्चिला भोजभतेरको आयोजना गर्ने, अनावश्यक छलफल गर्ने, तास खेल्ने तथा सामाजिक सञ्जालमा बिनासित्ती समय बर्बाद गर्ने प्रवृत्ति एउटा भयानक सामाजिक महामारीका रूपमा फैलिरहेको छ । श्रमलाई सम्मान नगर्ने र विनापरिश्रम रातारात वा दलाली गरेर धनी बन्ने महत्वाकांक्षा बोकेको समाज कहिल्यै पनि आर्थिक रूपमा सबल हुन सक्दैन ।
युवा शक्तिको एउटा ठूलो हिस्सा स्वदेशमा भविष्य नदेखेर खाडी मुलुकको चर्को गर्मीमा पसिना बगाउन र विदेशी मरुभूमिलाई हरियो बनाउन बाध्य छ । त्यसैको जगमा पठाइएको रेमिट्यान्सले देशको अर्थतन्त्र जेनतेन टिकेको छ । तर, स्वदेशमै रहेकाहरूमा पनि श्रमप्रतिको उदासीनता, दलीय राजनीतीकरण र अल्छीपन हाबी हुनुले हाम्रो राष्ट्रिय भविष्यमाथि नै ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ । उत्पादन र श्रमसँग नजोडिएको समाज केवल परनिर्भर उपभोक्ता मात्र बन्न पुग्छ । यही सांस्कृतिक स्खलन र श्रमविमुख प्रवृत्तिकै कारण आज हाम्रा उर्वर भूमिहरू बाँझै छन् र हामी सियोदेखि चामलसम्म, अनि तरकारीदेखि फलफूलसम्म विदेशबाट आयात गर्न विवश छौं । हामीले सधैँ राज्य र सरकारलाई मात्र दोष दिएर आफ्नो नागरिक कर्तव्य बिर्सिन मिल्दैन । जबसम्म व्यक्तिको तहबाट श्रमको सम्मान र समयको कदर हुँदैन, तबसम्म कुनै पनि तन्त्र वा व्यवस्थाले देशको भाग्य बदल्न सक्नेवाला छैन ।
अब समय आइसकेको छ, हामी सबैले गम्भीर आत्मसमीक्षा गर्ने । नेपालको विकास नहुनुमा केवल बाह्य कारण वा राजनीतिक अस्थिरता मात्र जिम्मेवार छैन, हाम्रो सामूहिक अकर्मण्यता, अलमल र समयप्रतिको चरम उपेक्षा पनि उत्तिकै दोषी छ । यदि हामीलाई साँच्चिकै यो देशलाई विकसित र समृद्ध बनाउने चाहना छ भने, सर्वप्रथम शासकीय संयन्त्रमा रहेको ढिलासुस्तीको अन्त्य गरी ‘फास्ट ट्रयाक’ कार्यप्रणाली लागू गर्नुपर्छ । राष्ट्रिय योजनाहरूमा हुने ढिलासुस्ती र गुणस्तरहीन काम गर्नेहरूलाई कडा कानुनी दायरामा ल्याइनुपर्छ । सामाजिक स्तरमा श्रम संस्कृतिको पुनर्जागरण आवश्यक छ । जुवातास, अल्छीपन र अनुत्पादक कुराकानीमा समय फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै हरेक नागरिकलाई कर्मशील बन्न उत्प्रेरित गरिनुपर्छ ।
यद्यपि, पछिल्लो समय नेपाली समाज र राजनीतिमा एउटा नयाँ र सकारात्मक रूपान्तरणको परकम्प पनि देखिन थालेको छ, जसले परम्परागत शिथिलतालाई धक्का दिएको छ । इतिहास साक्षी छ– पहिला–पहिला क्रान्ति सफल हुन धेरै समय लाग्थ्यो, दशकसम्मका सशस्त्र वा शान्तिपूर्ण आन्दोलनहरूपछि मात्र बल्लतल्ल व्यवस्थाहरू बदलिन्थे । तर, यसपटक ‘जेनजी’ अर्थात् नयाँ पुस्ताको आन्दोलन र दबाब एकदमै छिटो भयो । प्रविधि, सामाजिक सञ्जाल र तीव्र चेतनाले सुसज्जित यो पुस्ताले पुरानो कछुवा गति र कार्यशैलीलाई ठाडै चुनौती दिएको छ, जसका कारण राज्य सञ्चालकहरूमा एक प्रकारको दबाब सिर्जना भएको छ ।
त्यसैले, अब नेतृत्व तहले पुरानो दम्भ र अहंता नराखीकन इमानदारीपूर्वक काम गर्ने हो भने यो सरकारका पालामा देश र जनताका पक्षमा कामहरू पक्कै पनि छिटो हुनेछन् । कतिपय प्रशासनिक र विकासका कामहरू अहिले विगतको तुलनामा छिटोछरितो र जनमुखी ढङ्गले अघि बढेको देख्दा निराश भइसकेका नेपाली मनहरूमा एउटा नयाँ आश पनि जागेको छ । प्रकृतिको हतारो र विश्वको द्रुत गतिलाई आत्मसात् गर्दै अब नेपाली समाज र सरकार दुवैले आफ्नो हिँडाइको गति बढाउनै पर्छ । समयको यो तीव्र प्रवाहमा हामी अझै अलमलिइरह्यौं भने, इतिहासले हामीलाई कहिल्यै माफ गर्नेछैन । नयाँ पुस्ताको यो ऊर्जा र तीव्र गतिको उत्कण्ठालाई मार्गदर्शक बनाई अघि बढेमा मात्र हाम्रा भावी पुस्ताले सधैँ पछाडि परेको देशको नागरिक हुनुको पीडा भोग्नुपर्ने छैन ।











प्रतिक्रिया