चित्रकला र हस्तलिपि कलामार्फत झल्कियो चीनका चार शहरको सभ्यता


काठमाडौं ।

 कला केवल सौन्दर्य अभिव्यक्तिको माध्यम मात्र नभई सभ्यता, इतिहास र संस्कृतिको जीवन्त दस्तावेज पनि हो। यही सन्देशलाई आत्मसात् गर्दै नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले ‘लान्टिङ याजी’ समकालीन चिनियाँ चित्रकला तथा हस्तलिपि कला प्रदर्शनी नेपालस्थित चीन सांस्कृतिक केन्द्रमा बुधबारदेखि सुरु भएको छ।

बेइजिङ, तियान्जिन, सांघाई र छोङछिङका समकालीन कलाकारका चित्रकला तथा हस्तलिपिहरू समेटिएको प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ। प्रदर्शनी आगामी अगस्ट १४ सम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ।


‘हस्तलिपि कलामार्फत चीन(नेपाल मित्रताको नयाँ अध्याय’ शीर्षकमा आयोजित कार्यक्रममा नेपाल र चीनका कलाकार, हस्तलिपि कला तथा चित्रकला अनुरागी, कलाविद्यार्थी तथा संस्कृतिप्रेमीको उल्लेख्य सहभागिता थियो। कार्यक्रममा हस्तलिपि कला तथा चित्रकला प्रदर्शनीसँगै परम्परागत चिनियाँ लेखन सामग्रीको प्रदर्शनी, कलासम्बन्धी व्याख्यान तथा अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो।

प्रदर्शनीका क्युरेटर सु हाङले यो प्रदर्शनीलाई केवल चित्रकला प्रदर्शनीका रूपमा मात्र नहेर्न आग्रह गर्दै भने- ‘यो केवल चित्रकला प्रदर्शनी होइन, चीनका चार शहरको सभ्यताकोप्रदर्शन पनि हो।’ उनका अनुसार प्रदर्शनीमा समेटिएका प्रत्येक चित्र र हस्तलिपि कलाले बेइजिङ, तियान्जिन, सांघाई र छोङछिङको सांस्कृतिक पहिचान, इतिहास, जीवनशैलीर कलात्मक चेतनालाई प्रतिनिधित्व गर्छन्। उनले कला भाषाभन्दा माथिको साझा माध्यम भएकाले यसले नेपाल र चीनका जनतालाई अझ नजिक ल्याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा चीन सांस्कृतिक केन्द्र नेपालका उपनिर्देशक लिउ चानपिङले ‘लान्टिङ याजी’ चीनको अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको एक महत्त्वपूर्ण विश्वव्यापी ब्रान्डभएको बताए। उनले सन् २०२३ देखि नेपालमा सञ्चालन हुँदै आएको यो कार्यक्रम नेपाल–चीनबीचको जनस्तरीय सम्बन्ध र सांस्कृतिक समझदारी अभिवृद्धि गर्ने प्रभावकारीमञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।


उनले साहित्य, कला रसिर्जनात्मक अभिव्यक्तिमार्फत दुई देशबीचको मित्रतालाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। लिउले नेपाल र चीन शान्ति, प्रगति र पारस्परिक सम्मानका आधारमा अघि बढ्ने असल साझेदार रहेको उल्लेख गर्दै ‘लान्टिङ याजी’ उत्कृष्ट चिनियाँ परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणको माध्यममात्र नभई नयाँ युगमा नेपाल–चीन सिल्क रोड मैत्रीको इतिहासमा कोरिएको जीवन्त अध्याय भएको बताए। यस कार्यक्रमले दुई देशका नागरिकबीचको आपसी समझदारी, सांस्कृतिक आदान–प्रदान र जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने उनको विश्वास थियो।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति नारदमणि हार्तम्छालीले नेपाल र चीनबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्ध निकै घनिष्ठ रहेको उल्लेख गर्दै यस्ता कलाप्रदर्शनीले दुई देशका कलाकारबीचको सहकार्य, सांस्कृतिक संवाद र आपसी विश्वासलाई अझ सुदृढ बनाउने बताए। प्रदर्शनीमा राखिएका हस्तलिपि कला, परम्परागत चिनियाँ चित्रकला तथा अन्य कलाकृतिहरूले चीनको हजारौँ वर्ष पुरानो सांस्कृतिक परम्परालाई समकालीन सिर्जनशीलतासँगजोड्ने प्रयास गरेका छन्। एउटै प्रदर्शनीमा चीनका चार फरक महानगरका कलात्मक शैली, सांस्कृतिक विशेषता र सिर्जनात्मक दृष्टिकोणलाई एकै स्थानमा अवलोकन गर्नसकिने भएकाले यो प्रदर्शनी कला प्रेमीका लागि मात्र होइन, चीनको सभ्यता र सांस्कृतिक विविधतालाई बुझ्न चाहने सबैका लागि विशेष अवसरका रूपमा हेरिएको छ।