काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका स्वास्थ्य सेवा अन्तर्गतका २३ जना कर्मचारीलाई १५ दिनभित्र स्पष्टिकरण (सफाइ) पेस गर्न निर्देशन दिएको छ।
मन्त्रालयले सूचना प्रकाशित गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ६० को उपदफा (१०) को खण्ड (ख) बमोजिम लगातार ६० दिन वा सोभन्दा बढी समयसम्म कार्यालयमा अनुपस्थित रहेका कर्मचारीलाई कारणसहित सफाइ पेस गर्न आह्वान गरेको हो।
सूचनाअनुसार सम्बन्धित कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफू कार्यालयमा अनुपस्थित रहनुको कारण खुलाउँदै विभागीय सजाय किन नगर्ने भन्ने विषयमा प्रमाणसहित लिखित सफाइ मन्त्रालयमा बुझाउनुपर्नेछ। तोकिएको समयभित्र सफाइ पेस नगरे प्रचलित कानुनबमोजिम विभागीय कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार स्पष्टीकरण माग गरिएका कर्मचारीहरू विभिन्न सरकारी स्वास्थ्य संस्थामा कार्यरत छन्। उनीहरूमध्ये अधिकांश चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), कान्ति बाल अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा आयुर्वेद विकास केन्द्रमा कार्यरत रहेका स्वास्थ्यकर्मी हुन्।
स्पष्टीकरण मागिएका कर्मचारीहरू स्वास्थ्य, जनरल नर्सिङ, हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोलोजी, फार्मेसीलगायत विभिन्न सेवा तथा समूहसँग आबद्ध छन्।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा लामो समयदेखि कार्यालयसँग सम्पर्कविहीन रहेका कर्मचारीलाई कानुनी प्रक्रिया पूरा गर्दै अन्तिम अवसरस्वरूप स्पष्टीकरण पेस गर्न भनिएको उल्लेख छ। निर्धारित अवधिभित्र सन्तोषजनक जवाफ नआए उनीहरूमाथि निजामती सेवा ऐनअनुसार विभागीय कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।












प्रतिक्रिया