स्नुकर हाउसको आवरणमा हेरोइन कारोबार, ११२.५३ ग्राम खैरो हेरोइनसहित ३ पक्राउ


पोखरा ।

स्नुकर हाउसको आवरणमा लागुऔषध कारोबार भइरहेको खुलासा भएपछि प्रहरीले ११२.५३ ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको टोलीले असार १७ र १८ गते पोखरा महानगरपालिकाका विभिन्न स्थानमा छापा मारेर पोखरा–१० का ३८ वर्षीय रुमबहादुर थापा, ३७ वर्षीय गोविन्द थापा र बाँकेको कोहलपुर–१४ का ३२ वर्षीय सुरज सुनारलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पोखरा–१५ स्थित Sonam Snooker House का सञ्चालक गोविन्द थापा र रुमबहादुर थापाले आफ्नो स्नुकर हाउसमा काम गर्ने सुरज सुनारलाई भारततर्फ (काँकडभिट्टा पारि पानी ट्याङ्की क्षेत्र)बाट खैरो हेरोइन खरिद गर्न पठाउने गरेको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा गोविन्द थापा यसअघि पनि लागुऔषध कारोबार मुद्दामा दोषी ठहर भई ३० महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना भुक्तानी गरिसकेको अभिलेखसमेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ११२.५३ ग्राम खैरो हेरोइन, एक थान iPhone 13 Pro Max लगायतका सामग्री बरामद गरेको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ।