अमेरिका पठाउन लागिएका सुन–चाँदीजस्ता गरगहना बरामद, दुई जना पक्राउ


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका पठाउन लागिएको ठूलो परिमाणको सुन तथा चाँदीजस्ता देखिने गरगहना बरामद गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५:३० बजे कार्गो कम्प्लेक्समा मेनिफेस्ट नम्बर AMS AP 321 अन्तर्गत जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडा उल्लेख गरिएको कार्गो बाकस एक्स–रे परीक्षणका क्रममा शंकास्पद देखिएपछि खोलिएको थियो।

जाँचका क्रममा म्यानिफेस्टमा उल्लेख नभएका ठूलो परिमाणमा सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना फेला परेका हुन्। बरामद सामग्रीमा विभिन्न प्रकारका नौगेडी, चन्द्रमा, जन्तर, सिङ्गल तथा डबल ब्रोच, शिरफुल, नेपालको झण्डाअंकित ब्रोच, खुकुरी आकारका ब्रोच, मंगलसूत्र, मोतीमाला, रानीहार र त्रिशूल रहेका छन्। प्रहरीका अनुसार उक्त सामग्री बौद्धस्थित युनिक कार्गो झापा मार्फत एपेक्स लजिस्टिक प्रालि को माध्यमबाट काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा एपेक्स लजिस्टिक प्रालिका ४६ वर्षीय सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापाका ३४ वर्षीय सञ्चालक रामप्रसाद दाहाल लाई पक्राउ गरिएको छ। बरामद गरिएका गरगहना तथा पक्राउ परेका दुवै जनालाई थप कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।