काठमाडौं ।
भारतीय सीमावर्ती क्षेत्र सुस्ताका बासिन्दाले नागरिकता, भूमि अधिकार र सीमा सुरक्षाको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्। ‘सुस्ता बचाउ अभियान’को आह्वानमा भएको प्रदर्शनमा सहभागीहरूले भारतीय अतिक्रमण रोक्न प्रभावकारी कूटनीतिक पहल गर्न, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन तथा वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा वितरण गर्न सरकारसँग माग गरेका छन्।
धर्नामा सहभागीहरूले ‘सुस्ता बचाउ, सुस्तावासीलाई बचाउ’, ‘सीमा, नागरिकता र लालपुर्जाको रक्षा गर’ तथा ‘अतिक्रमण होइन, सार्वभौम सम्मान दे’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा नेपाल–भारत सीमाबारे दिएको विवादास्पद अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीबाट आफूहरूमाथि थप दबाब र प्रताडना बढेको दाबी गर्दै सरकारले सुस्ता समस्यालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।
प्रदर्शनकारीहरूले आफ्ना समस्या राख्न पटक–पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समय मागे पनि भेट्ने अवसर नपाएको गुनासो गरेका छन्। उनीहरूले सुस्ता समस्याको स्थायी समाधानका लागि सरकारसँग तत्काल वार्ता, सीमा सुरक्षाको प्रभावकारी व्यवस्थापन र स्थानीय बासिन्दाको संवैधानिक अधिकार सुनिश्चित गर्न माग गरेका छन्। हालसम्म सरकारका तर्फबाट धर्नाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।











प्रतिक्रिया