अमेरिकी दूतावासद्वारा नेपाल प्रहरीलाई डिजिटल फरेन्सिक उपकरण हस्तान्तरण


काठमाडौं ।

नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक अनुसन्धान क्षमतामा थप सुदृढीकरण गर्ने उद्देश्यले विभिन्न प्रकारका सफ्टवेयर, हार्डवेयर तथा अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा उक्त उपकरण नेपाल प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

नेपाल प्रहरीले प्राप्त उपकरणहरूले साइबर अपराध तथा डिजिटल प्रमाणहरूको वैज्ञानिक विश्लेषण, अनुसन्धान र फरेन्सिक परीक्षणलाई अझ प्रभावकारी, आधुनिक र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा दुवै पक्षले नेपाल–अमेरिका सुरक्षा सहकार्य तथा क्षमता अभिवृद्धिलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।