शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया 

1.22k
Shares

ओखलढुङ्गा। 

ओखलढुङ्गाको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्लामा रहेका माध्यमिक तहका प्रधानाध्यापकहरूसँग अन्तरक्रियात्मक छलफल गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाले जिल्लाभरका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू र विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूको सहभागितामा अन्तरक्रिया सञ्चालन गरेको हो। 

कार्यक्रममा जिल्लाका केही नमुना विद्यालयहरूले आफ्नो शैक्षिक अभ्यास, नवप्रवर्तक, विद्यालय व्यवस्थापन, सिकाइ सुधारका प्रयास तथा हासिल गरेका उपलब्धीबारे प्रस्तुतिकरण गरेका थिए । प्रस्तुतिकरणका क्रममा विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि अपनाइएका प्रभावकारी अभ्यास, प्रविधिको प्रयोग, विद्यार्थी सिकाइ उपलब्धि तथा समुदायसँगको सहकार्यका अनुभवहरू प्रस्तुत गरेका थिए ।

 अन्तरक्रियामा सहभागी प्रधानाध्यापकहरूले विद्यालय शिक्षामा देखिएका समस्या, विद्यार्थीको सिकाइ सुधार, शिक्षकको क्षमता विकास तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिएका छन् । अन्तरक्रियाको क्रममा आएका सुझावहरूको आधारमा ‘शैक्षिक रूपान्तरणका लागि प्रस्तावित मार्गचित्र अवधारणा पत्र तयार पारिएको छ। 

यसरी तयार गरिएको अवधारणा पत्रमा सुझाव स्वरुप जिल्लाका सबै स्थानीय तहहरूमा कार्यान्वयनका लागि पठाइने शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाका अध्यक्ष तथा जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईले बताउनु भएको छ। जिल्लाको शैक्षिक क्षेत्र सुधारका लागि स्थानीय तहहरूले कक्षा एक भन्दा तल दुई वटा अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्ने र ती कक्षाहरुमा सुविधा सम्पन्न फर्निचर हुनु पर्ने र शिक्षकहरूको मनोबल बढाउने कार्यक्रम निर्माण गरी  प्रत्येक विद्यालयहरूमा लागू  गर्नु पर्ने लगायतका सुझावहरू अवधारणा पत्रमा समावेश गरिएको उहाँको भनाई रहेको छ।

 यही असार ९ गते जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालमा शिक्षकले सम्मान पउनु पर्ने बताउँदै त्यसो नभएको बताए । शिक्षा माथि जानका शिक्षकहरु नै प्रोत्साहित हुनु पर्ने बताए ।

 शिक्षकहरूले देशको नागरिकको मानसिकतालाई परिवर्तन गर्न सक्ने, नागरिकलाई विभिन्न क्षेत्रमा अगुवाईमा पुर्याउने शिक्षक रहेको र शिक्षकको इज्जत नभएको बताउँदै शिक्षकले खोजेको पनि त्यहीनै खोजेको उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले शिक्षकलाई समाज र राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन । उनले नेपालमा शिक्षकले पाउनुपर्ने सम्मान अझै सुनिश्चित हुन नसकेको बताए ।

घिसिङले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि शिक्षकहरू स्वयं उत्प्रेरित र उत्साहित हुन आवश्यक रहेको उल्लेख गर्दै शिक्षकको मनोबल उच्च नभएसम्म अपेक्षित शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने बताए । 

उहाँका अनुसार शिक्षकले नै समाज र राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, नागरिकको सोच र मानसिकतामा सकारात्मक परिवर्तन ल्याउने तथा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने नागरिक तयार पार्ने महत्त्वपूर्ण जिम्मेवारी वहन गरेको बताए । उनले शिक्षकको भूमिका राष्ट्र निर्माणसँग प्रत्यक्ष रूपमा जोडिएको भए पनि समाजमा शिक्षकको प्रतिष्ठा र सम्मान अपेक्षाअनुसार हुन नसकेको बताए ।