रास्वपा महाधिवेशन : निर्वाचन सरगर्मीसँगै आरोप–प्रत्यारोप, उम्मेदवारको दौडधुप तीव्र

658
Shares

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। निर्वाचनको तयारी अन्तिम चरणमा पुगेका बेला महाधिवेशनस्थलमा राजनीतिक बहस, उम्मेदवारहरूको प्रचारप्रसार तथा प्रतिनिधिहरूसँगको भेटघाट तीव्र बनेको छ।

महाधिवेशनका एक प्रतिनिधिले उपसभापति स्वर्णिम वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रस्ताव संघीय शासन प्रणालीमाथि नै प्रश्न उठाउने र आक्रमण गर्ने खालको रहेको आरोप लगाएका छन्। उनले प्रस्तावमाथि पर्याप्त छलफल नगरी पारित प्रक्रियातर्फ अघि बढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
यसैबीच, निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि प्रयोग गरिने ८० वटा विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन) तयारी अवस्थामा राखिएका छन्। समितिका अनुसार ती उपकरणमार्फत प्रतिनिधिहरूले विभिन्न पदमा मतदान गर्नेछन्।

महाधिवेशनका क्रममा रास्वपाका नेता जगदीश खरेलले पहिलो महाधिवेशनबाट प्राप्त अनुभव र देखिएका कमजोरीलाई आगामी दोस्रो महाधिवेशनसम्ममा सुधार गरिने बताएका छन्। उनले पार्टीलाई अझ व्यवस्थित र संस्थागत बनाउने दिशामा महाधिवेशनले महत्वपूर्ण आधार तयार गरेको उल्लेख गरे।
निर्वाचन समितिले केन्द्रीय सदस्य पदका लागि ३८४ जना उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ। दाबी–विरोध र आवश्यक प्रक्रिया पूरा भएपछि अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ।

निर्वाचनको माहोलबीच उम्मेदवारहरू प्रतिनिधिहरूसँग भेटघाट, छलफल र समर्थन जुटाउने अभियानमा सक्रिय देखिएका छन्। सोही क्रममा प्रतिनिधिसभा सदस्य सोविता गौतमले प्रतिनिधिहरूसँग सेल्फी खिच्दै चुनावी माहोललाई थप रोचक बनाएकी थिइन्।
महाधिवेशनस्थलमा नेतृत्व चयनको प्रतिस्पर्धासँगै उत्साह, बहस र राजनीतिक गतिविधि चरममा पुगेका छन्।