समाचार एजेन्सी, नयाँ दिल्ली
कोभिड–१९ विरुद्धको खोपले हृदयघात, मस्तिष्कघात, मिर्गौला, कलेजो वा अन्य गम्भीर रोग निम्त्याएको भन्ने दाबी सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिने गरेको छ । तर, विश्वभर प्रकाशित वैज्ञानिक अनुसन्धान तथा स्वास्थ्य निकायहरूको मूल्यांकनले यस्ता धेरै दाबीहरूलाई पुष्टि नगरेको देखाएको छ ।
हालै जामा इन्टरनल मेडिसिनमा प्रकाशित अमेरिकी अध्ययनले फ्लुको खोपसँगै सन् २०२४–२५ को कोभिड खोप लगाएका व्यक्तिहरूमा हृदयघात, स्ट्रोक तथा अन्य गम्भीर मुटुसम्बन्धी घटनाको जोखिम कम देखिएको जनाएको छ । अमेरिकी भेटरन्स अफेयर्स विभागका १० लाखभन्दा बढी व्यक्तिलाई समेटेर गरिएको अध्ययनमा कोभिड खोप लिएका समूहमा कोभिडसँग सम्बन्धित प्रमुख हृदयघातजन्य घटनाहरू करिब ३८ प्रतिशतले कम देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अध्ययनका अनुसार लाभ विशेषगरी ७५ वर्षभन्दा माथिका तथा पहिलेदेखि दीर्घरोग भएका व्यक्तिहरूमा बढी देखिएको थियो । अनुसन्धानकर्ताहरूले यो अवलोकनात्मक अध्ययन भएकाले प्रत्यक्ष कारण–परिणाम सम्बन्ध भने स्थापित नगर्ने स्पष्ट पारेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार कोभिड–१९ खोपसँग सम्बन्धित केही दुर्लभ प्रतिकूल असरहरू पहिचान गरिएका छन् । विशेषगरी एमआरएनए प्रविधिका खोपहरू लगाएपछि सीमित संख्यामा मायोकार्डाइटिस (मुटुको मांसपेशीमा सुजन) तथा पेरिकार्डाइटिस (मुटु वरिपरिको झिल्लीमा सुजन) का घटना रिपोर्ट भएका छन् । यी घटना प्रायः युवा पुरुषहरूमा दोस्रो मात्रा लगाएको केही दिनभित्र देखिने गरेको अध्ययनहरूले देखाएका छन् । तर, अधिकांश बिरामी सामान्य उपचारपछि पूर्ण वा लगभग पूर्ण रूपमा निको भएको तथ्य डब्लूएचओ र सीडीसीले सार्वजनिक गरेका छन् ।
सीडीसीका अनुसार कोभिड–१९ खोपको सुरक्षा इतिहास अमेरिकामा अहिलेसम्मकै सबैभन्दा व्यापक रूपमा निगरानी गरिएको खोप कार्यक्रममध्ये एक हो । उपलब्ध तथ्याङ्कले एनाफिल्याक्सिस (गम्भीर एलर्जी प्रतिक्रिया) प्रति १० लाख मात्रा खोपमा करिब पाँच घटनाको दरमा मात्र देखिएको जनाएको छ ।
विज्ञहरूका अनुसार खोपपछि देखिएका दुर्लभ मायोकार्डाइटिसका घटनालाई आधार बनाएर सम्पूर्ण खोप कार्यक्रमलाई असुरक्षित भन्न मिल्दैन । बरु धेरै अनुसन्धानले कोभिड सङ्क्रमण आफैंले मुटुमा पार्ने असर खोपसँग सम्बन्धित जोखिमभन्दा बढी रहेको देखाएका छन् । फ्रान्समा गरिएको एक अध्ययनले कोभिड सङ्क्रमणपछि देखिएको मायोकार्डाइटिस खोपपछिको मायोकार्डाइटिसभन्दा बढी गम्भीर हुने निष्कर्ष निकालेको थियो ।
भारतमा पनि युवावस्थामा हुने आकस्मिक मृत्युबारे बहस भइरहेका बेला भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) तथा राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) ले गरेका अध्ययनहरूले कोभिड खोप र आकस्मिक हृदयघातबीच प्रत्यक्ष सम्बन्ध प्रमाणित नभएको निष्कर्ष सार्वजनिक गरेका छन् । अनुसन्धानकर्ताहरूले आनुवंशिक कारण, जीवनशैली, धूम्रपान, मधुमेह, उच्च रक्तचाप, मोटोपना तथा कोभिड सङ्क्रमणपछिका जटिलताहरूलाई हृदयरोगका प्रमुख जोखिम कारकका रूपमा औंल्याएका छन् ।
विशेषज्ञहरूका अनुसार वैज्ञानिक अनुसन्धानको आधारमा हेर्दा कोभिड–१९ खोप पूर्ण रूपमा जोखिमरहित नभए पनि यसको गम्भीर प्रतिकूल असर अत्यन्त दुर्लभ छ । उपलब्ध प्रमाणहरूले खोपले महामारी अवधिमा लाखौं मानिसको ज्यान बचाएको तथा गम्भीर संक्रमण, अस्पताल भर्ना र मृत्युको जोखिम उल्लेखनीय रूपमा घटाएको देखाएका छन् । त्यसैले सामाजिक सञ्जालमा फैलिने अप्रमाणित दाबीभन्दा प्रमाणमा आधारित वैज्ञानिक निष्कर्षलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूको सुझाव छ ।











प्रतिक्रिया