आईजीपी कार्कीको प्रमुख आतिथ्यतामा ‘प्रहरी र विधिको शासन’ पुस्तक लोकार्पण


काठमाडौं ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीद्वारा लिखित ‘Police and Rule of Law’ नामक पुस्तकको विमोचन गरिएको छ।

नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीसहित विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले गहन र सान्दर्भिक विषयवस्तु समेटिएको उक्त कृतिको सफल प्रकाशनका लागि लेखक डा. रेग्मीलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले लेखकको सिर्जनात्मक यात्रा निरन्तर अघि बढोस् भन्ने कामना गर्दै समाजलाई मार्गदर्शन गर्ने, कानुनी शासन सुदृढ बनाउन सहयोग पुग्ने तथा मुलुकलाई समृद्धितर्फ डोर्‍याउने खालका थप कृतिहरू प्रकाशन हुने विश्वास व्यक्त गरे।

सो अवसरमा पूर्व रजिष्ट्रार तथा नेशनल ल कलेजका प्राचार्य रामकृष्ण तिमल्सिना, पूर्वसचिव खेमराज रेग्मी तथा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

त्यस्तै, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता सूर्य कोइरालाले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका विषयवस्तु, यसको सान्दर्भिकता तथा लेखकको लेखन कौशलबारे चर्चा गरेका थिए।

पूर्वसचिव विश्वप्रकाश पण्डितको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वसचिव डा. कृष्णप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा लेखक डा. गणेश रेग्मीले धन्यवाद ज्ञापन गर्दै पुस्तकको विषयवस्तुबारे संक्षिप्त जानकारी गराएका थिए।

समारोहमा नेपाल सरकारका पूर्वसचिवहरू, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।