काठमाडौँ
बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको खाद्य पदार्थको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तर पाइएको भन्दै सम्बन्धित उत्पादकद्वारा उत्पादित तोरी तेल बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश जारी गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण पविभाग गत शुक्रबार निकालेको विज्ञप्तिमा यस्तो विषय आएको छ ।
विश्लेषण गरिएका विभिन्न प्यारामिटरहरूको आधारमा उक्त नमुना नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभएको पाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम ब्याच नम्बर २०का सबै उत्पादनहरू बजारबाट हटाउन तथा बिक्री वितरण नगर्न÷नगराउन निर्देशन दिइएको हो ।
उक्त तोरी तेल “तेज” ब्रान्ड अन्तर्गत आयातित तोरी गेडाबाट उत्पादन गरिएको हो, जसको उत्पादन मिति २०८२ फागुन २८ रहेको र उपभोग्य अवधि ६ महिना तोकिएको छ ।
उक्त उत्पादन सिद्धार्थ आयल इन्डस्ट्रिज, गुरबानिया, रुपन्देहीद्वारा उत्पादन गरिएको हो । सम्बन्धित निकायले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उक्त ब्याचका सम्पूर्ण सामग्री तत्काल बजारबाट फिर्ता गर्न र बिक्री वितरण रोक्न सम्बन्धित पक्षलाई निर्देशन दिएको जनाएको छ ।
्











प्रतिक्रिया