काभा महिला भलिबलमा नेपाल भारतसँग पराजित, भारतलाई कांस्य


काठमाडौँ।

काभा महिला भलिबल च्याम्पियनशिपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाललाई पराजित गर्दै कांस्य पदक जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा भारतले नेपाललाई ३–१ सेटले हराएको हो। भारतले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२३ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्‍यो। नेपालले भने तेस्रो सेट २५–१५ ले जितेको थियो।

यससँगै भारत प्रतियोगिताको तेस्रो स्थानमा रहँदै कांस्य पदक जित्न सफल भएको छ भने नेपाल चौथो स्थानमा सीमित बन्यो।

यसअघि बिहीबार भएको सेमिफाइनलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो। भारत पनि काजकिस्तानसँग समान ३–० सेटले पराजित हुँदै तेस्रो स्थानका लागि प्रतिस्पर्धामा पुगेको थियो।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो। समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका थिए भने समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश सहभागी थिए।