दुर्गमको विद्यालय पूर्ण आवसिय सुविधाको पर्खाईमा

3.1k
Shares

दोलखा ।

दोलखाको उत्तरी दुर्गम गाउँ जगतमा रहेको गौरीशङ्कर माध्यामिक विद्यालय (मावि) मा आवसिय सुविधा (होस्टल) लाई व्यवस्थित बनाउनु पर्ने स्थानीय अभिभावकहरु बताउछन् ।

झण्डै एक सय जना भरपर्दो अभिभावक नभएका (क्रिटिकल स्टुडेन्ट) सहित तीन सय ५८ जना विद्यार्थी रहेको दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ जगतको गौरीशङ्कर माविमा चार÷पाँच घण्टाको दूरीमा रहेका गाउँबाट समेत विद्यार्थीहरु आउने गरेको र भरपर्दो अभिभावक नभएका विद्यार्थीलाई होस्टलमै राखेर पढाउनु पर्ने अवस्था रहेकोले पनि पूर्ण आवसिय सुविधा (होस्टल) आवश्यक रहेको स्थानीय अभिभावकहरुको भनाई छ ।

विद्यालयमा छात्र– छात्रा गरी ८३ जना विद्यार्थी राख्न सकिने होस्टल सञ्चालनमा रहेको भएपनि क्रिटिकल विद्यार्थीको संख्या र विद्यार्थीहरु अध्यनको लागि आउने गाउँसंगको विद्यालयको दूरीलाई ख्यालगर्दै पूर्ण आवसिय सुविधा थप र व्यवस्थित गर्नुपर्ने अवस्था रहेको विद्यालयका प्रधानाध्यापक हिरामणी गौतम बताउछन् ।

पूर्ण आवसिय सुविधाको लागि सहयोग गर्न बागमति प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा भवन निर्माण सहितको योजनाका लागि विगु गाउँपालिकाको सिफारीस सहित पाँच करोड माग गर्दै निवेदन दिईएको प्रधानाध्यापक गौतम बताउछन् ।

गत बर्ष विद्यालयको होस्टलमा ८३ जना विद्यार्थी राखिएको र उनीहरुको सबै खर्च विगु गाउँपालिकाले उपलब्ध गराएको प्रधानाध्यापक गौतम बताउछन् । यो बर्ष अहिले सम्म १०÷१२ जना विद्यार्थी आफ्नै खर्चमा होस्टलमा रहेको प्रधानाध्यापक गौतम बताउछन् । होस्टलको व्यवस्थापन पछि थप विद्यार्थीहरुलाई राखिने उनको भनाई छ ।

उत्तरी दुर्गम जगतमा रहेको गौरीशङ्कर माविमा विगु गाउँपालिकाको वडा नम्बर– १ लामाबगर र वडा नम्बर– २ वराङ तथा गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ८ खारे र वडा नम्बर– ९ गौरीशङ्करका २१ वटा गाउँबाट विद्यार्थीहरु अध्यनको लागि आउने गरेको प्रधानाध्यापक गौतमले बताए ।

विद्यालयमा अध्यनरत एक सय जना भरपर्दो अभिभावक नभएका (क्रिटिकल स्टुडेन्ट) विद्यार्थी मध्य ७७ जनालाई ताईवानी नागरिक एमी टिमको पहलमा प्रति विद्यार्थी बार्षिक १० हजारको दरले सहयोग प्राप्त हुने गरेको र यो सहयोग क्रिटिकल स्टुडेन्टको लागि निक्कै उपयोगी र प्रभावकारी रहेको प्रधानाध्यापक गौतम बताउछन् ।

सरकारले गौरीशङ्कर माविमा आवसिय सुविधा दियोभने विद्यार्थीहरुलाई विद्यालय टाढा भएर वा आर्थिक समस्याका कारण विद्यालय छोड्नुपर्ने अवस्था नहुने स्थानीय अभिभावक लाल बहादुर तमाङ बताउछन् ।