भावनाले भरिएको सामाजिक कथाको गौँथली


आगामी साउन १ गते रिलिजमा आउने सामाजिक कथाको फिल्म गौँथलीको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरले पारिवारिक सम्बन्ध, वैवाहिक जीवनको पीडा र आमाको ममता केन्द्रमा राख्दै कथावस्तुको संकेत गरेको छ।

टिजरमा छोरीको सुखद् भविष्यका लागि आमाले गरेको संघर्ष, विवाहपछि छोरीले भोग्नुपरेको व्यवहार र श्रीमान्को असामान्य स्वभावका कारण सिर्जिएको पीडालाई भावुक ढंगले प्रस्तुत गरिएको छ। पढाइ पूरा गर्ने चाहना हुँदाहुँदै विवाह गर्न बाध्य बनेकी युवतीले विवाहपछि भोग्नुपरेको कठिन अवस्थाले टिजरलाई संवेदनशील बनाएको छ।


फिल्मले जिन्दगीमा सोचेजस्तो निर्णय सधैं सही नहुन सक्छ भन्ने सन्देश दिन खोजेको देखिन्छ। आप्mनै घरमा असहज जीवन बिताउन बाध्य श्रीमतीको पीडा, छोरीका लागि आमाको न्यानो माया र बुहारीप्रति सासूको कठोर व्यवहारलाई टिजरमा प्रभावकारी रूपमा देखाइएको छ ।
फिल्ममा अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का मुख्य भूमिकामा छन्। अरुणको फरक स्वभाव र कम उमेरमै विवाह गरेकी युवतीको संघर्षपूर्ण जीवनलाई केन्द्रमा राखिएको कथाले दर्शकलाई भावुक बनाउने संकेत गरेको छ।

डा. कपिल रिजालद्वारा निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, बाल कलाकार अंशु ओली, प्रिन्स नेपालीलगायतले पनि अभिनय गरेका छन्। डा. भोला रिजालको कथामा बनेको फिल्ममा पटकथा र संवादमा निर्देशक कपिल रिजालसगै निश्चल कुवर, निरज नेपाल र गिरिराज घिमिरेको रहेको छ। निर्माण पक्षका अनुसार गौँथलीले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेको फिल्ममा इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन्।
फिल्ममा शम्भुजीत बाँसकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

गौथली नाममा दुई दशकअघि डा. भोला रिजालले निर्माण गरेको फिल्मलाई नेपालको पहिलो गीति फिल्म मानिन्छ। अहिले सोही नामलाई निरन्तरता दि“दै उनका चिकित्सक पुत्र डा. कपिल रिजालले नयाँ पुस्ताका लागि गौँथली तयार पारेका हुन्।