नेपाल मेडिसिटी वयोधामा स्वास्थ्य सेवा अब इएमआईबाट, पहिला उपचार, शुल्क किस्तामा


काठमाडौँ। 

बीरगञ्जस्थित नेपाल मेडिसिटी वयोधामा स्वास्थ्य सेवा झन् सहज, सुलभ र आर्थिक रूपमा पहुँचयोग्य हुने भएको छ । नेपाल मेडिसिटी वयोधामा उपचारका लागि आउने बिरामीहरुले उपचार गर्ने बित्तिकै पैसा तिर्नु पर्दैन । अस्पतालले हालै फिन्तारा सोलुसन्स प्राइभेट लिमिटेडको डिजिटल इएमआई एग्रिगेसन प्लेटफर्म ‘वान बीएनपीएल’सँग सम्झौता गर्दै बिरामीलाई उपचारपछि इएमआईबाट किस्तामा शुल्क तिर्ने सक्ने व्यवस्था मिलाएको छ । 

यो व्यवस्था काठमाडौंको नेपाल मेडिसिटी मात्र नभई तराई प्रदेशमा बसोबास गर्ने विरामीका लागि पनि पहुँचयोग्य बनाइएको छ । नेपाल मेडिसिटी वयोधा अस्पतालमा पनि आजबाट यो सेवा लागू हुने भएको छ । यस सम्झौतासँगै नेपाल मेडिसिटी र नेपाल मेडिसिटी वयोधा अस्पतालमा उपचार गराउन आउने बिरामीहरूले ५ हजार रुपैयाँ वा सोभन्दा माथिको अस्पताल बिललाई साझेदार बैंकका क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सक्नेछन् । सो बिलको शूल्क ३ देखि १८ महिनासम्म शून्य ब्याजदरमा किस्ताबन्दीबाट तिर्न सक्नेछन् । 

वान बीएनपीएलका साझेदार बैंकहरूमा ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, प्रभु बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक रहेका छन् । सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा डिजिटल र कागज रहित हुने भएकाले बिरामीले कुनै झन्झटबिना सरल रूपमा भुक्तानी गर्न सक्नेछन् । यो पहलले नेपालमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचका क्रममा देखिने आर्थिक अवरोधलाई कम गर्दै समयमै उपचार लिन सकिने वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ । 

नेपाल मेडिसिटी वयोधाका प्रबन्ध निर्देशक विजय रिमालले भने, “अब स्वास्थ्य सेवा अझ सहज रूपमा उपलब्ध हुने भएको छ । नेपाल मेडिसिटी र नेपाल मेडिसिटी वयोधा अस्पतालमा जुनसुकै रोगको उपचार अब इएमआई सुविधामार्फत सम्भव भएको छ । बिरामीहरूले आर्थिक तनाव बिना उपचार लिन सक्नेछन् । क्रेडिट कार्डमार्फत १८ महिनासम्म शून्य ब्याजदरमा किस्ता सुविधा उपलब्ध गराउनु हाम्रो बिरामी–केन्द्रित सेवाको प्रतिबद्धता हो ।”

“नेपाल मेडिसिटी वयोधामा हाम्रो लक्ष्य सधैँ बिरामीलाई गुणस्तरीय, सुरक्षित र सहज सेवा प्रदान गर्नु हो । वान बीएनपीएलसँगको यो सहकार्य हाम्रा सेवाग्राहीलाई थप सुविधा प्रदान गर्ने दिशामा महत्वपूर्ण कदम हो” उनले बताए । नेपाल मेडिसिटी वयोधाले यस डिजिटल इएमआई प्रणालीमार्फत स्वास्थ्य सेवामा वित्तीय सहजता ल्याउँदै आधुनिक, प्रविधिमैत्री र बिरामी–केन्द्रित सेवा विस्तार गर्ने विश्वास व्यक्त गरेको अस्पतालले जनाएको छ ।