जेन-जी आन्दोलनको जनादेश सुधारका लागि हो, राज्य संस्थालाई कमजोर पार्न होइन

लोकप्रिय नेता पनि जवाफदेहिताभन्दा माथि हुँदैन

2.73k
Shares

बेलायतमा प्रधानमन्त्रीले हरेक साता ‘प्राइम मिनिस्टर्स क्वेस्चन टाइम’मा प्रतिपक्षको कठोर प्रश्न सामना गर्छन् । भारतमा पूर्वप्रधानमन्त्री मनमोहन सिंहदेखि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसम्म सरकारको नीति तथा कार्यक्रममाथिको बहस र संवेदनशील मुद्दामाथि छलफललगायत महत्वपूर्ण अवसरमा संसद्मा उपस्थित हुने गरेका छन् । अमेरिकाजस्तो राष्ट्रपति प्रणालीमा समेत सिनेट र कंग्रेसको सुनुवाइ शक्तिशाली छ ।

काठमाडौं ।

नेपालको राजनीतिमा आएको पछिल्लो परिवर्तनलाई लिएर अहिले असाध्यै भावनात्मक बहस भइरहेको छ । एकथरीले नयाँ सरकारलाई ‘नयाँ युग’ घोषणा गरिसकेका छन् भने अर्काथरी हरेक कदममा असफलता खोज्न व्यस्त छ । तर, लोकतन्त्र भावनाले होइन, तथ्य र संस्थागत सन्तुलनले चल्छ ।

जनताले नयाँ शक्ति रोज्नुको कारण स्पष्ट छ । वि.सं. २०७९ को निर्वाचनसम्म आइपुग्दा नेपालमा जनविश्वासको संकट गहिरिँदै गएको थियो । ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार सूचकांकमा नेपाल लगातार कमजोर स्थानमा रह्यो । बेरोजगारी, वैदेशिक पलायन र प्रशासनिक ढिलासुस्तीले युवामा चरम निराशा बढेको थियो । आर्थिक वर्ष २०८०/८१ मा मात्रै झण्डै आठ लाख ४० हजार नेपालीले श्रम स्वीकृति लिएर विदेश गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको तथ्यांकले पुष्टि गरेको छ । गत वैशाख महिनामा मात्र ३४ हजार ९ सय ७२ पुरुष र ६ हजार ३ सय ५२ महिला गरी कुल ४१ हजार ३ सय २४ जनाले श्रम स्वीकृति लिइसकेका छन् ।

देशभित्र अवसर नदेखेर ठूलो पुस्ता बाहिरिनु आफैंमा पुरानो राजनीतिक मोडेलप्रतिको अविश्वासको संकेत थियो । यही पृष्ठभूमिमा नयाँ शक्तिप्रति आकर्षण बढ्न गई जनताले परम्परागत दललाई चुनौती दिएका थिए । गत भदौ २३ र २४ को युवा (जेन–जी) आन्दोलनको जनादेश सुधारका लागि हो, राज्य संस्थालाई कमजोर पार्नका लागि होइन ।

नेपालको समस्या केवल पुराना दल होइनन्, कमजोर संस्था पनि हुन् । अख्तियार, प्रशासन, सार्वजनिक सेवा, विश्वविद्यालय, प्रहरी, नियामक निकायजस्ता धेरै ठाउँ राजनीतिक हस्तक्षेपले कमजोर बनिसकेको छ । अब यदि सुधारको नाममा फेरि व्यक्ति केन्द्रित शासनलाई बढावा दिइयो भने समस्या झन् गहिरो हुन सक्छ । लोकप्रियता क्षणिक हुन सक्छ । तर, संस्था टिकाउ हुन्छन् र अन्ततः देशलाई बचाउने व्यक्तिले होइन, बलिया संस्थाले हो ।

पछिल्लो समय सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभामा उपस्थित नभएको विषयलाई लिएर पक्ष र विपक्षमा विभिन्न तर्कहरूका साथै कुतर्क पनि अगाडि सारिएका छन् । संसद्को भूमिकाबारे हलुका टिप्पणी गर्दै ‘त्यहाँ केवल भाषण हुन्छ’, ‘प्रधानमन्त्री किन जानुपर्‍यो’ भन्ने प्रश्न उठाइएको छ । तर, लोकतान्त्रिक प्रणालीमा संसद् केवल औपचारिकता होइन ।

बेलायतमा प्रधानमन्त्रीले हरेक साता ‘प्राइम मिनिस्टर्स क्वेस्चन टाइम’ मा प्रतिपक्षको कठोर प्रश्न सामना गर्छन् । त्यस्तै, भारतमा पूर्व प्रधानमन्त्री मनमोहन सिंहदेखि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीसम्म सरकारको नीति तथा कार्यक्रममाथिको बहस र संवेदनशील मुद्दामाथि छलफललगायत महत्वपूर्ण अवसरमा संसद्मा उपस्थित हुने गरेका छन् । अमेरिकाजस्तो राष्ट्रपति प्रणालीमासमेत सिनेट र कंग्रेसको सुनुवाइ शक्तिशाली छ । यसबाट पनि पुष्टि हुन्छ, लोकप्रिय नेता पनि जवाफदेहिताभन्दा माथि हुँदैन ।

त्यस्तै, अहिले सरकारको ‘गति’ लाई लिएर निकै प्रशंसा भइरहेको छ । तर, इतिहासले देखाएको छ, अत्यधिक केन्द्रीकृत र प्रक्रियामाथि गति राख्ने शासनहरू सुरुमा लोकप्रिय भए पनि दीर्घकालमा समस्याग्रस्त बनेका छन् । नेपालमै पनि वि.सं. २०७४ पछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा शक्तिशाली सरकार बनेको थियो ।

त्यतिबेला पनि ‘अब निर्णय हुन्छ’, ‘देशले स्थायित्व पायो’ भन्ने व्यापक हल्लाखल्ला थियो । तर, पाँच वर्ष नपुग्दै त्यही सरकार संसद् विघटन, आन्तरिक शक्ति संघर्ष र संवैधानिक विवादमा फस्यो । यसकारण लोकतन्त्रमा केवल छिटो निर्णय गर्नु पर्याप्त हुँदैन, निर्णय कसरी गरियो भन्ने पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

त्यसै गरी सरकारले संसद् रोकेर ल्याएको अध्यादेशको विषयमा पनि पक्ष र विपक्षको लडाईं चलेको छ । तर, यथार्थ के पनि हो भने संविधानले अध्यादेशलाई आपतकालीन वा विशेष अवस्थाका लागि राखेको हो । संसद् चलिरहेका बेला व्यापक रूपमा अध्यादेश ल्याउने अभ्यासले संसदीय भूमिकालाई कमजोर बनाउँछ । भारतमा सन् १९५० देखि २०१४ सम्म केन्द्र सरकारले ६०० भन्दा बढी अध्यादेश जारी गरेको तथ्यांक छ, जसलाई त्यहाँको सर्वोच्च अदालतले पटक–पटक ‘संसदीय प्रक्रियाको विकल्प बन्न नसक्ने’ भनेको थियो ।

नेपालमै पनि अध्यादेश दुरुपयोगको विषय बारम्बार विवादित बनेको छ ।अहिले सामाजिक सञ्जालमा अर्को खराब र अस्वस्थ प्रवृत्ति पनि बढेको छ, सरकारको आलोचना गर्ने जोसुकैलाई पनि ‘पुरानो दल वा व्यवस्थाको समर्थक’ भन्ने । तर, आलोचनाले नै लोकतन्त्रलाई बलियो बनाउँछ ।

तथ्य, तर्क र सार्वजनिक हितमा आधारित आलोचनालाई पनि व्यक्तिगत गाली गर्दै भ्रम फैलाउने वा घृणाको विषय बनाउने गर्न थालिएको छ । यसले समाजलाई विभाजित गर्ने खतरा बढ्दै गएको छ । विश्वका बलिया लोकतन्त्रहरू प्रेस, नागरिक समाज र सार्वजनिक प्रश्नका कारण बलिया बनेका हुन् । वाटरगेट काण्डदेखि पेन्टागन पेपर्ससम्म अमेरिकामा प्रेसकै कारण सरकारलाई जवाफदेही बनाइएको थियो । नेपालमा पनि भ्रष्टाचार, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्ड, ललिता निवासजस्ता विषय सार्वजनिक दबाबका कारणै उजागर भएका हुन् । त्यसैले सरकारमाथि प्रश्न उठ्नु अस्वाभाविक होइन । बरु प्रश्न उठ्न छाड्यो भने चाहिँ लोकतन्त्र कमजोर हुन थाल्छ ।

जनताले अहिले नयाँ सरकारसँग ठूलो अपेक्षा राखेका छन् । त्यो अपेक्षा केवल नयाँ अनुहार होइन, सुशासन, न्यायोचित अवसर र विकासका लागि हो । नेपालमा अझै पनि विकास खर्चको ठूलो हिस्सा आर्थिक वर्षको अन्तिम महिनामा हतारमा खर्च हुन्छ । सार्वजनिक खरिद प्रणालीमा अनियमितताको गुनासो पुरानै छ । शिक्षा र स्वास्थ्य सेवामा असमानता गहिरो छ । ग्रामीण क्षेत्रका नागरिक अझै सामान्य सेवाका लागि घण्टौं हिँड्न बाध्य छन् । यी समस्यालाई सम्बोधन गर्न संस्थागत सुधार, प्रशासनिक क्षमता र नीतिको निरन्तरता आवश्यक हुन्छ ।

अर्को सबैभन्दा महत्वपूर्ण कुरा, कुनै पनि जनादेश स्थायी हुँदैन । नेपालकै इतिहास हेर्दा पनि सजिलै बुझ्न सकिन्छ, वि.सं. २०४८ मा कांग्रेस, २०६४ मा माओवादी र २०७४ मा एमालेलाई ‘जनताको अन्तिम रोजाइ’ भनिएको थियो । तर, केही वर्षमै जनमत फेरियो । लोकतन्त्रको सुन्दरता पनि यही हो, जनताले मौका पनि दिन्छन्, साथै निरन्तर परीक्षण पनि गरिरहन्छन् ।

यसकारण अहिले सरकार वा कुनै राजनीतिक दलको अन्ध समर्थन वा अन्ध विरोध गर्नुभन्दा नयाँ सरकारलाई काम गर्ने अवसर दिनुपर्छ । तर, त्यही समयमा संसद्, न्यायपालिका, प्रेस र संवैधानिक प्रक्रियालाई कमजोर बनाउने कुनै पनि प्रवृत्तिप्रति सतर्क पनि रहनुपर्छ । जनताले परिवर्तन चाहेका हुन्, तर लोकतन्त्र कमजोर पार्ने परिवर्तन होइन । उनीहरूले छिटो काम गर्ने सरकार चाहेका हुन्, तर विधि र संस्थामाथि उभिएको शासन खारेज गरेका होइनन् ।