नबिल बैंकमा नर्सिङ रुमको सुरुवात


काठमाडौँ।

नबिल बैंकले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो ।

उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाहलगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

कर्मचारीको हितलाई उच्च महत्व दिँदै आएको नबिल बैंकले बैंकमा कार्यरत कर्मचारी आमालाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको हो । नर्सिङ रुमले कर्मचारीहरूलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ । ‘यस कक्षको थालनीमार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी पूरा गरेका हौं । यसले कर्मचारी आमालाई कार्यालयभित्र आफ्नो बच्चासँग सुरक्षित छु भन्ने महसुस गराउने छ,’ संचालक समितिका सदस्य सरिता भट्ट अधिकारीले बताउनुभयो ।