राजधानीका १० क्षेत्रका सुकुम्बासी बस्ती खाली

1.22k
Shares

–आफ्नै निर्णय उल्ट्याएर धमाधम डोजर
–सुकुम्बासीको बिचल्ली, दलहरू मौन
–योजना छैन, खाली गर्न हतार
–देशैभर आतंक, सरकार पछि हट्न खोजेन

काठमाडौं ।

सरकारले शनिवार बिहानैदेखि विष्णुमती र वागमती नदी आसपासका सुकुम्बासी बस्तीमा डोजर चलाएको छ । शनिवार बिहान स्वयम्भू क्षेत्रबाट डोजर चलाएको थियो । त्यसपछि बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलाएको हो । सरकारले अनामनगर धोबी खोला किनारको बस्तीमा पनि डोजर चलाएको छ ।

सहरी विकास मन्त्रालयले तयार गरेको तथ्याङ्कअनुसार स्वयम्भुमा ४६, अनामनगरमा २३ बालाजु र माछापोखरीमा झण्डै सय बढी घरटहरामा डोजर चलाएको हो । सहरी विकास मन्त्रालयको निर्देशनमा देशैभरका खोला किनार र सुकुम्बासी बस्तीमा डोजर आतंक जारी छ ।

शुक्रवार काठमाडौंका टेकु, शंखमूख, बल्खु, वंशीघाट क्षेत्रका सुकुम्बासी बस्तीमा डोजर चलेको थियो । शुक्रवार बल्खुमा ४०१, वंशीघाटका १९३ र शंखमूलका १५० पक्की घरहरू भत्काएको थियो ।

बस्तीमा डोजर लागेपछि १ हजार ४१४ जना सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । सरकारले सहरी विकास मन्त्रालयले देशैभरका स्थानीय तहलाई केही समय बन्दोबस्ती गरेर मात्र भत्काउन आदेश दिएको थियो ।

तर, आदेश दिएकै दिन एक दिनको समय दिएका उपत्यकाका सुकुम्बासी बस्ती खाली गरेको छ । सरकारी डोजर आतंकले हजारांै जनता सडकमा पुगेका छन् भने बस्तुभाउ र कुकुर बिरालोजस्तो घरपालुवा जनावर सहाराविहीन भएका छन् ।

प्रधानमन्त्री शाहले कार्यभार सम्हालेको एक महिना पुग्दा नपुग्दै पहिलो प्रहार सुकुम्बासी बस्तीमा परेको छ । वैशाख १२ गतेबाट खोला किनाराको बस्ती खाली गर्न थालिएको थियो । पहिलो चरणमा थापाथली, गैरीगाउँ र मनोहरालगायत क्षेत्रको सुकुम्बासी बस्ती हटाएको थियो । वर्षातअघि नै सकुम्बासीलाई व्यवस्थित गर्ने भन्दै खोला किनाराको सबै बस्ती हटाउन थालिएको हो ।

खोला किनाराका बस्ती हटाउँदै गर्दा सँगै रहेका स्थानीयले आफ्नो घरको लालपुर्जा भित्तामा टाँसेका थिए ।

सुकुम्बासीको पहिचान नगरी जथाभावी बस्तीमा डोजर चलाएको भन्दै सर्वत्र आलोचना भएको छ । यस विषयमा प्रधानमन्त्री शाहले कुनै जवाफ दिनुभएको छैन । सरकारी रबैयाको विरुद्धमा दल आबद्ध सुकुम्बासीहरूले जेठ पहिलो साता आम हड्ताल गर्ने चेतावनीसमेत दिएका छन् ।

सरकारले काठमाडौं जिल्लाभित्रका १० नगरपालिकाका नदी किनाराका वस्ती, एवम् सरकारी, पर्ती वा निजी जग्गा अतिक्रमण गरेका ५६ स्थानका ४ हजार ४ सय ८४ घरटहरामा एकैपटक डोजर चलाउने तयारी गरिसकेको छ । पहिलो चरणमा काठमाडौंका खोला किनाराका बस्ती खाली गराएको हो । वैशाख १६ गते अत्यन्तै जरुरी १२ बुँदे सूचना जारी गरी बस्ती खाली गर्न लागेको हो ।

मानवीय हिसाबले एवम् विपद्को जोखिमसमेत मध्यनजर गरी एकैपटक विभिन्न स्थानमा डोजर चल्न लागेको हो ।

सरकारले काठमाडौं महानगरपालिका, तारकेश्वर, शंकरापुर, नागार्जुन, बूढानीलकण्ठ, चन्द्रागिरि, कीर्तिपुर, टोखा र कागेश्वरीमनोहरा नगरपालिका क्षेत्रका अतिक्रमित बस्ती खाली गर्न लागेको हो ।
शुक्रवार तीन स्थानमा मात्रै ७ सय ४४ घर टहरा भत्काइएको थियो ।

बल्खुमा ४९१ घर, टहरा र छाप्रो हटाएको थियो । वंशीघाटमा १०३ वटा घर टहरा भत्काइएको छ भने शंखमूलमा १५९ वटा घर भत्काइएको छ । शंखमूलमा डोजर चलेका सबै पक्की घर थिए । बस्ती खाली भएपछि ३२३ परिवार सम्पर्कमा आएका थिए । सुरुको दिन थापाथली, मनोहरा र गैरीगाउँबाट करिब १ हजार ५ सय सुकुम्बासी सम्पर्कमा आएका थिए ।

सुकुम्बासीहरूको स्क्रिनिङको व्यवस्था त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गरिएको छ । त्यहाँ सुकुम्बासीको स्वास्थ्य परीक्षणसमेत भएको थियो । घर–टहरा भत्काइएपछि सम्पर्कमा आउने सुकुम्बासीहरूलाई राख्न पाँच वटा स्थान तय गरेको छ ।

ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा राख्ने तयारी छ ।

सुरुको दिनका सुकुम्बासीलाई कीर्तिपुरको राधाश्वामी सत्सङ्ग ब्यास, र नयाँ बसपार्कस्थित विभिन्न होटलमा राखिएको छ । सरकारले खाने र बस्ने व्यवस्था गरे पनि बिचल्ली देखिएको छ ।
सुकुम्बासीलाई हाल अस्थायी रूपमा स्थानान्तरण गरिए पनि उनीहरूलाई स्थायी रूपमा कहाँ र कसरी राखिन्छ भन्ने स्पष्ट खाका सरकारसँग छैन ।

के गर्ने सोचेको पनि छैन । हचुवाको भरमा मनोमानी ढंगले बस्तीमा डोजर चलाइरहेको छ । सरकारले बिदाको दिन पारेर उपत्यकाको खोला किनारका बस्तीमा लगातार डोजर चलाइरहेको छ । आज आइतबार पनि बस्ती खाली गर्नेक्रम जारी रहेको छ । भोलि सोमबारबाट केही दिन रोकिएपछि फेरि बिदाको दिनको मौका छोपेर बाकी रहेका र स्क्रिनिङ गरेका बस्ती खाली गर्ने तयारी सरकारको छ ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले भने वास्तविक सुकुम्बासीको पहिचानपछि दीर्घकालीन व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइएको दाबी गरेका छन् । हाल सरकारसँग इचंगुनारायणमा २३० वटा अपार्टमेन्ट फ्ल्याट तयारी अवस्थामा छन् ।

पहिलो चरणमा केही परिवारलाई बसोबास गराइनेछ । त्यसबाहेक कतिपयले आफू आएकै ठाउँमा जग्गाको माग गरेमा भूमि व्यवस्था मन्त्रालयमार्फत जग्गाको खोजी र व्यवस्थापन गर्ने कार्य पनि भइरहेको छ । मन्त्रालयले हाल कहाँ–कस्तो जग्गा उपलब्ध गराउन सकिन्छ भन्नेबारे प्राविधिक अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकासहित काठमाडौंका स्थानीय तहले आफ्नो क्षेत्रको सुकुम्बासी पहिचान गर्न सुरु गर्ने भएको छ । आजबाट काठमाडांै, बूढानीलकण्ठ, तारकेश्वरलगायत स्थानीय तहले सरकारको सहयोगमा स्क्रिनिङ गर्ने भएको छ । स्क्रिनिङ गरेर सुकुम्बासी प्रमाणित भएपछिमात्र सेस्टलबाट हटाएर बासस्थानको व्यवस्था गर्ने तयारी छ ।

विस्थापित सकुम्बासीलाई स्वास्थ्य शिविर
नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूका लागि सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सरकारले उनीहरूलाई बालरोग, स्त्रीरोग, दन्त उपचार, र मनोसामाजिक परामर्श दिइसकेको छ । उपचारमा सहयोग गर्न शुक्रराज ट्रपिकलको नेतृत्वमा कान्ति बाल अस्पताल, परोपकार प्रसूति गृह र पाटन मानसिक अस्पतालका विशेषज्ञ टोलीहरू खटिएका छन् । उपचारपछि शिविरमै औषधि र परामर्श दिने तथा जटिल समस्या भएमा सरकारी अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिलेसम्म करिब सय बढीले सेवा लिइसकेका छन् । बसोबास गुमाउँदा हुनसक्ने मनोसामाजिक तनाब र अन्य संक्रमणलाई ध्यानमा राख्दै पाटन मानसिक अस्पतालको टोलीले परामर्श सेवा दिइरहेको छ । त्यस्तै, कीर्तिपुर क्षेत्रमा पनि वीर अस्पतालको नेतृत्वमा दोस्रो शिविर सञ्चालन भइरहेको छ, जहाँ आँखा र दाँतको उपचार जारी रहेको छ । काठमाडौं महानगरपालिका र स्वास्थ्य सेवा विभागसँगको समन्वयमा पर्याप्त जनशक्ति र औषधिको व्यवस्था गरिएको छ ।

कहाँ कति ?
कागेश्वरी मनोहरा नगरपालिका
गोठाटार बुद्धचोक–९०
मनोहरा टोल–१३
बूढानीलकण्ठ नगरपालिका
पाथिभरा–१२४

कपन–१३८
ललितपुर महानगरपालिका
बालकुमारी–१७
गोदावरी नगरपालिका
गोदावरी नहर–२१५
मध्यपुरथिमी नगरपालिका
मनोहरा–७७३

काठमाडौं महानगरपालिका
खाडीपाखा–१४७
नारायण टोल–३२
रानीबारी–१०
बालुवाटार–१४
धुम्बाराही–६

गैरीगाउँ–१६२
देवीनगर–४०
शान्तिविनायक–३६
शंखमूल–१५०
वंशीघाट–१९३
थापाथली–१४३

जागरणमार्ग बल्खु–४०१
स्वयम्भू–४६
बुद्धज्योति–७५
जागृतिमार्ग–१२३

सङ्गम टोल–३५
अनामनगर–२३
शान्तिनगर–४७६
जडिबुटी मिलनचोक–११४