अध्यादेश बाट मुलुक चलाउनु खोज्नु संसद र नागरिक लाई हेप्नु हो : काग्रेस सभापति थापा

0
Shares

रौतहट ।

नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले अध्यादेशमार्फत मुलुक सञ्चालन गर्न खोज्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताएका छन् । सर्लाहीस्थित आफ्नो निर्वाचन क्षेत्रतर्फ जाने क्रममा चन्द्रनिगाहपुरमा पत्रकारसँग कुरा गर्दै उहाले यस्तो धारणा राख्नु भएको हो ।

उहाका अनुसार प्रतिनिधि सभाको बैठक सूचनानै नदिई स्थगित गर्नु र त्यसपछि अध्यादेशबाट शासन सञ्चालन गर्ने प्रयास गर्नु संसद र नागरिक दुवैप्रति अपमानजनक व्यवहार हो ।

सरकार माथि बहुमत भएको संसदप्रतिनै अविश्वास देखाएको आरोप लगाउँदै उहाले नागरिकलाई जानकारी नदिई शासन चलाउनु अलोकतान्त्रिक सोच भएको बताउनु भयो । सभापति थापाले संवैधानिक परिषद्को गठन र नियुक्ति प्रक्रियामा समेत सरकारको मनपरी रहेको आरोप लगाउनु भयो । उहाले प्रधानमन्त्रीले संवैधानिक परिषद् र अदालतसम्बन्धी नियुक्तिका बिषयमा प्रतिपक्षसँग परामर्श गर्नुपर्ने भए पनि त्यसलाई बेवास्ता गरिएको बताउनु भयो ।

उहाले नेपाली कांग्रेस सुधारको पक्षमा रहेको र यही एजेन्डासहित निर्वाचनमा गएको उल्लेख गर्दै सरकारले प्रतिपक्षसँग संवाद नगर्नु æहेपाहा प्रवृत्तिÆ भएको टिप्पणी गर्नु भयो । यस्तो व्यवहारले अन्ततः राजनीतिक दुर्घटना निम्त्याउन सक्ने उहाको भनाई थियो ।

सुकुम्बासीको विषयमा बोल्दै थापाले घरबारविहीन नागरिकलाई राज्यले आवासको व्यवस्था गर्नु संवैधानिक दायित्व भएको उल्लेख गर्नु भयो । यस बिषयमा पार्टीको आधिकारिक धारणा सार्बजनिक भैसकेको बताउनु भयो ।