काठमाडौं।
काठमाडौँ उपत्यका मेयर्स फोरमले आगामी शैक्षिक सत्र सञ्चालनबारे स्पष्टता ल्याउँदै उपत्यकाभित्रका सबै पालिकाहरूलाई समयअनुसार शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।
फोरमको बुधबार बसेको बैठकले यस वर्ष वैशाख ११ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेदेखि सुरु हुने सूचना जारी भएको थियो। तर, शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि नै सुरु हुने व्यवस्था रहेको भन्दै स्थानीय तहहरूले आ–आफ्नो शैक्षिक क्यालेण्डर अनुसार विद्यालय सञ्चालन गर्दै आएको फोरमले जनाएको छ।
फोरमले सरकारी निर्णय र स्थानीय तहको अभ्यासबीच देखिएको असमञ्जस्यताले विद्यालय सञ्चालनमा अन्योलता सिर्जना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
संविधानको अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकारभित्र पर्ने भएकाले शैक्षिक गतिविधि स्थानीय क्यालेण्डर अनुसार सञ्चालन गर्नुपर्ने फोरमको भनाइ छ।
साथै, सर्वोच्च अदालतमा परेको विद्यार्थी भर्ना सम्बन्धी मुद्दामा आएको अन्तरिम आदेश, सरोकारवाला निकायहरूको सुझाव तथा शैक्षिक संस्थाहरूबाट आएका गुनासोलाई समेत ध्यानमा राखिएको जनाइएको छ।
फोरमले उपत्यकाभित्र शैक्षिक वातावरणमा एकरूपता कायम गर्न, विद्यार्थीको सिकाइमा असर नपरोस् भन्ने उद्देश्यले समयमै शैक्षिक गतिविधि अघि बढाउन आवश्यक रहेको जनाएको छ।
त्यस्तै, इन्धन संकटलाई समेत ध्यानमा राख्दै विद्युतीय सवारी साधनको प्रयोग बढाउन र आवश्यक परे अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न तयारी गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तहलाई अनुरोध गरेका छन्।












प्रतिक्रिया