राहत र उद्धारको पर्खाइमा दलित परिवार, दश वर्षीय बालक पढाइबाट वञ्चित

 पर्वतको मोदी गाउँपालिका वडा नं. ८ चित्रेमा रहेको वैशलाल विकको तीन सदस्यीय बेसहारा परिवार 
940
Shares

पर्वत। 

 तीन वर्षकै उमेरमा आमा परपुरुषसँग जानु, बाबु पूर्ण अपाङ्ग, हजुरआमा मानसिक रोगी । दश वर्षीय बालक साजन सुनारको जीवनमा परेको यो असह्य पिडा हो यो । 

यति मात्र हैन न बस्ने बास, न खाने गाँस, न जग्गा जमिन । दैवको यस्तो नियति भोग्दै आएका छन् पर्वतको मोदी गाउँपालिका वडा नं. ८ चित्रे गाउँका दश वर्षीय साजन सुनारले । घर नजिकैको सामुदायिक विद्यालयमा कक्षा पाँचमा अध्ययन गर्दै आएका साजनका बाबु ५५ वर्षीय बैशलाल कामी पूर्ण अपाङ्ग हुनुहुन्छ । उहाँ घर बाहिर हिँडडुल गर्न त परै जाओस दिशा पिसाब समेत बसेकै ठाउँमा गराउनुपर्छ । 

८० बर्षिया हजुरआमा मनकली विक मानसिक बिरामी हुनुहुन्छ । कहाँ के गर्ने, के खाने, कता जाने, कहाँ सुत्ने उनको केही  ठेगान हुँदैन । आर्थिक अभाव र अस्पताल लैजाने सहयोगी निकाय नहुँदा उहाँ थलिदै जानुभएको छ ।  बाबुबाजेले पुरै घरजग्गा बिक्री गरेपछि सहाराबिहीन बनेको परिवार वैशलालका मामाको घरमा साँघुरो कोठामा आश्रय लिएर बसेको छ ।

आम्दानीको नाममा सरकारले मासिक रुपमा दिने सामाजिक सुरक्षा भत्ता बाहेक अरु केहि छैन । उक्त रकमले विहान बेलुका बल्लतल्ल हातमुख जोड्न मात्र गुजरा चल्छ । न बुढि आमाको उपचार गर्न सकेँ, न आफ्नो उपचार गर्न सकेको छु, जन्मजातदेखिनै पूर्ण अपाङ्गता रहेका बैशलालले भने, ‘मलाई किन दैबले यति धेरै चोट र पिडा दियो ।’    

आफू अपाङ्ग र छोरा सानो भएका कारण मानसिक रोगले थलिएकी आमाको पालनपोषण गर्न समस्या भएको उनको भनाई छ । आमालाई कतै बृद्धाश्रम वा मानव सेवा आश्रममा लगेर राख्न पाए बुढेसकालमा उपचार र गतिलो खाना खान पाउथिन कि भन्ने आशा गरेको छु बैशलालले भने –‘मत मरेर जान्छु होला, यो दश बर्षको छोराको बेहाल हुने भयो ।’ 

वर्षौदेखि परिवारको यस्तो पिडा हुँदा पनि आफन्तजन वा राज्यका कुनैपनि निकायले सहयोग नगरेको उहाँ बताउनुहुन्छ । सहाराबिहीन दश वर्षिया साजन भन्छन्, राम्रो विद्यालयमा पढेर ठुलो मान्छे हुन मन छ तर घरको अवस्थाले अब पढ्न जाने अवस्था छैन । घर नजिकै रहेको प्राविमा कक्षा पाँचसम्म पढाई हुने भएकाले पढेँ, अब कक्षा ६ देखि एक घण्टाको पैदल हिडेर विद्यालय जानुपर्छ, अपाङ्ग बाबा र रोगी हजुरआमालाई कसले रेखदेख गर्देला ।’ 

पढ्न इच्छा धेरै भएपनि घरको अवस्थाले वञ्चित हुनुपरेको उनको दुःखेको रहेको छ । गहँभरी आशु झार्दै साजनले भने ‘हाम्रो परिवारलाई कसैले आर्थिक सहयोग गरिदिए बुवाको र अजुरआमाको उपचार गर्ने थियौँ, र मैलेपनि राम्रोसँग पढ्ने थिए ।’ यो परिवारलाई अहिलेसम्म कुनैपनि निकायवाट सहयोग नआएको स्थानीयवासीहरुको भनाई रहेको छ । 

वैशलालले भन्नुभयो–‘यदि मामा आएर घर छाड्नुप¥यो भने खुल्ला आकाशमुनि बस्नुको विकल्प छैन ।’ आफ्नो र आमाको नाममा कहिँ कतैपनि जग्गा जमिन नरहेको उनले बताए । उनले सुकुम्वासी भएर बस्नुपर्दा झनै पिडा थपिएको बताउनुभयो । म त जेसुकै रहुँला  बृद्ध आमा र नाबालक छोराको कसैले उद्धार गरिदिएमा मलाई शान्ति मिल्ने थियो, वैशलालले भने । 

स्थानीय छविलाल सुनारले, घर नजिकै बस्दै आएका वैशलालको परिवारको पिडा सहि नसक्नु रहेको बताए । राज्यका कुनै निकाय वा अन्य संघ संस्थाको उद्धारको पखाईमा उक्त परिवार रहेको उनको भनाई रहेको छ । जीवनमा यस्तो पिडा कसैलाई नपरोस्, उहाँले भन्नुभयो, दश बर्षिया बालकको अवस्था दर्दनाक हुने भयो । पढाईमा तिख्खर रहेका साजनलाई कतैबाट सहयोग मिलेमा उनको भविष्य उज्ज्वल हुने भएकाले सवैलाई सहयोगका लागि सुनारले आव्हान समेत गरेका छन् । 

मोदी गाउँपालिका वडा नं. ८ चित्रेका वडा अध्यक्ष सुकबहादुर गुरुङ्गले उक्त परिवारलाई सामाजिक सुरक्षाको रकम बाहेक अन्य सहयोग दिलाउन नसकिएको बताए ।  उनले पालिका र वडावाट आवश्यक सहयोग गर्ने बारेमा पहल गर्ने आश्वासन दिएका छन् ।