बुटवल।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश स्तरीय ढुवानी व्यवसायीसंगको संयुक्त बैठकले मालवाहक ढुवानी व्यवसायी चरम मारमा परेको निचोड निकालेको छ । बैठकले इन्धनमा भएको मूल्य वृद्धिको अनुपातमा नयाँ ढुवानी भाडा तय गरी सार्वजनिक गर्न सरकार सँग माग गरेको छ ।
मुलुकको परिस्थिती र अन्र्तराष्ट्रिय रुपमा भएको द्वन्द्वका कारण इन्धनको समस्या विकराल बन्दै गएको र मूल्यवृद्धिका कारण ढुवानीका साधन संचालनमा कठिनायी उत्पन्न भएको भन्दै तत्काल मूल्यवृद्धिको अनुपातमा भाडा समायोजन गर्नका लागि प्रदेश र केन्द्रीय सरकार समक्ष जोडदार माग गरिएको हो ।
त्यस्तै बैठकले भारतीय नम्बरका सवारी साधनहरु निर्बाध रुपमा ७२ घण्टासम्म नेपालमा गुड्न पाउने व्यवस्थालाई संशोधन गरी ७२ घण्टालाई घटाई २४ घण्टाको समय निर्धारण गर्न पनि माग गरेको छ । त्यस्तै भारतीय मालवाहक सवारी साधनहरुलाई भन्सार विन्दुमै सामान पल्टी गराई तौलपुल निर्देशिका २०७४ बमोजिम कार्य गर्न गराउन प्रदेश र केन्द्रीय समितिले सरकार सँग पहल गर्नका लागि जोडदार माग गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष याम बहादुर जिसीले बताए । बैठकले नेपाल ट्रक यातायात व्यवसायी महासंघको नीति ,नियम बमोजिम सञ्चालित धर्मकांटाहरुमा अनिवार्य रुपमा तौल जाँच गराउनका लागि कडाईका साथ लागू गराउने निर्णय पनि बैठकले गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशअध्यक्ष यम प्रसाद पाण्डेले बताए ।
बैठकले गरेका निर्णयलाई व्यवहारमा कडाईका साथ लागू गराउनका लागि प्रदेशमा सञ्चालित विभिन्न समिति,संघ र ढुवानी व्यवसायीले प्रदेश र केन्द्रीय समितिलाई दवाव दिनु पर्ने निर्णय गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष गणेश घिमिरेले बताए ।
प्रदेश अध्यक्ष यम प्रसाद पाण्डेको अध्यक्षतामा कपिलवस्तु स्थित बाणगंगा यातायात व्यवसायी समितिमा भएको बैठकमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने, महासंघका उपाध्याक्ष विधाप्रति उपाध्याय, महासंघका कोषाध्यक्ष रुमाखर गौतम, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष याम बहादुर जिसी, वरिष्ठ उपाध्यक्ष गणेश घिमिरेले, उपाध्यक्ष राजकुमार लामा,महासचिव वसन्त खड्का, कोषाध्यक्ष काशिनाथ पोख्रेल, ढुवानी व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक श्यामराज हमाल, अध्यक्ष माधव प्रसाद आचार्य,ढुवानी व्यवसायी महासंघ रुपन्देहीका महासचिव उज्जवल केसी ,कोसी यातायात व्यवसायी संघका उपाध्यक्ष गणेश श्रेष्ठ, बाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष लक्ष्मण भुसाल, अन्य पदाधिकारीहरु र सदस्यहरूको सहभागिता रहेको थियो । सोही समारोहमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा हालै निर्वाचित नेतृत्वलाई सम्मान समेत गरिएको थियो ।











प्रतिक्रिया