पीआरले पूरा गर्‍यो विनिताको सपना


विदेशमा बसेर पनि नेपाली फिल्ममा अभिनय गर्ने अवसर पाएकी कलाकार हुन् विनिता कार्की। मोडलिङ हुँदै फिल्ममा प्रवेश पाएकी उनी आज रिलिजमा आउने फिल्म पीआरमा नायिकाका रूपमा छिन्।
सानोमा रेखा थापा, झरना थापा, निरुता सिंह आदिको अभिनय र डान्स हेरेर हुर्किएकी उनको सपना नायिका बन्ने थियो। पीआरमा मुख्य भूमिका नै पाइन्।

फिल्मको गीत र ट्रेलरले राम्रै चर्चा पाइरहेको अवस्थामा उनी यो फिल्मले दर्शकको मन जित्नेमा ढुक्क छिन्। ‘फिल्मको रिलिज डेट नजिकिँदै जाँदा उनमा अलि अलि डर र अलिअलि खुसी र धेरै उत्साह छ। म यो फिल्ममा फेसबुकमार्फत जोडिएकी हुँ। मलाई एक जना दिदीले फेसबुकमा मेन्सन गरिदिनुभएको थियो। त्यसकै आधारमा यो फिल्ममा जोडिएँ। फेसबुकमार्पmत थाहा पाएपछि म अडिसनका लागि गएँ। अडिसनमा तिमी सेलेक्सट भयौ भन्नुभयो। निर्देशक शोभित बस्नेतले भनेपछि मैले इन्टरभ्यु दिएँ। त्यसमा पास भएपछि बल्ल यो फिल्ममा काम गर्न पाएँ’ उनले खुसी हुँदै सुनाइन् ‘मेरो सपना नै नायिका बन्ने थियो। त्यो सपना पीआरबाट पूरा भयो। फिल्ममा आउनुभन्दा अघि नेपालमै हुँदा मोडलिङ गर्थेँ।

अष्ट्रेलिया गएपछि अलिक समय दिन भ्याइरहेको थिइनँ। नेपालमा नै केही गर्छु भन्दाभन्दै परदेशिएँ। कलाकार बन्ने सपना थियो, पीआरबाट सुरुवात भएको छ।’

फिल्मको शीर्ष गीत पीआरको चक्करले हालै सार्वजनिक भएको छ। गीतको भिडियोमा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई प्रस्तुत गरिएको छ। गीतमा मानस राजको संगीत, मानस राज र समीक्षा अधिकारीको स्वर तथा शोभित बस्नेतको कोरियोग्राफी रहेको छ।

गीत सलोमा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सलोन सलिना फिल्म्स्को ब्यानरमा लक्ष्मण सापकोटा र प्रदीप दाहालद्वारा निर्मित फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डाँगी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा, नवीन घायल प्रमुख भूमिकामा छन् भने नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्की विशेष भूमिकामा छन्।