रामेछाप ।
रामेछापका उपभोक्ताहरूले नेपाल टेलिकमका रिचार्ज कार्ड (क्यास कार्ड) मा ठगी भएको गुनासो गरेका छन् । सोही विषयमा सचेत नागरिक समाजले जिल्ला प्रशासन कार्यालय रामेछापमार्फत छानबिनको माग गर्दै आइतबार इमेल मार्फत ज्ञापनपत्र बुझाएको छ।
सचेत नागरिक समाजद्वारा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा नेपाल टेलिकमका विभिन्न मूल्यका रिचार्ज कार्डमा छपाइसम्बन्धी अनियमितता र ठगी भइरहेको भन्दै तत्काल कारबाहीको माग गरिएको छ। ज्ञापनपत्रमा ५०, १००, २००, ५०० र १००० दरका कार्डहरूमा पिन नम्बर नदेखिने, नम्बर काटिएपछि अंक मेटिने, कहिलेकाहीँ पहिले प्रयोग भइसकेका टोकन खुलेको जस्ता समस्या बारम्बार देखिन थालेको उल्लेख छ।
नागरिक समाजले टेलिकमका ग्राहकहरूले भुक्तानी गरे पनि सेवाबाट वञ्चित भइरहेका र कार्ड छपाइमा कमसल कागज प्रयोग भएको गुनासो गरेका छन् । नेपाल टेलिकम सरकारी स्वामित्वमा रहेको संस्था भएकाले यसको सेवामा देखिएको यस्तो लापरवाहीले ग्राहकको विश्वास गुमाउँदै लगेको छ, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
कार्ड छपाइमा संलग्न कम्पनीहरूमाथि कानुनी कारबाही गर्न, पीडित ग्राहकलाई रकम फिर्ता गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन कडा अनुगमन गर्न माग गरेको छ। साथै, नागरिक समाजले रामेछापका विभिन्न स्थानीय तह—मन्थली, रामेछाप, लिखुतामाकोशी, गोकुलगङ्गा, उमाकुण्ड, दोरम्बा शैलुङ, मन्थली, सुनापती, खाँडादेवी, नेपाल टेलिकम कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च र पत्रकार महासंघलगायत सरोकारवालालाई पनि बोधार्थ पत्र पठाउँदै ठगीको विषयमा ध्यानाकर्षण गराएको छ।












प्रतिक्रिया