स्याङ्जा।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले लोकल रुटमा चल्ने सवारी साधनको भाडा समायोजन गर्न आग्रह गरेको छ । प्रशासन कार्यालयले जिल्लाका सहायक मार्गहरुमा संचालित सवारी साधनहरुको नयाँ भाडादर कायम गरेको छ । लोकल रुटमा चल्ने सार्वजनिक सवारी साधनमा मनपरी भाडा उठाउन थालिएको, भाडा बढी लिने गरिएको गुनासो आएपछि कार्यालयले भाडादर कायम गरेको हो ।
प्रशासनले पक्की सडकको हकमा बसमा प्रतिव्यक्ति प्रतिकिमी साढे ५ रुपैयाँ र जिपको हकमा ६ रुपैयाँ भाडादर कायम गरेको छ । तर कच्ची सडकको हकमा बसको प्रतिकिमी ११ रुपैयाँ तथा जीपको १२ रुपैयाँ कायम गरिएको प्रजिअ इश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित भाडादरमा उल्लेख गरिएको छ ।
सर्वपक्षीय भेलाले टेम्पो, अटोरिक्सा, ई रिक्साले लिने भाडाको हकमा पक्की सडक ३ किमीसम्मको प्रतिकिमी प्रतिव्यक्ति ३० रुपैयाँ तथा ३ किमी भन्दा बढी दुरी भएमा प्रतिव्यक्ति प्रतिकिमी १० रुपैंयाँका दरले थप भाडा कायम गर्ने भनी भाडादर समायोजन गरिएको हो । तर कच्ची सडकको हकमा अटोलाई ३ किमीसम्मको प्रतिकिमी प्रतिव्यक्ति ४० रुपैयाँ तथा ३ किमी भन्दा बढी दुरी भएमा प्रतिव्यक्ति प्रतिकिमी १५ रुपैंयाँका दरले थप भाडा लिन सकिने प्रशासनले जनाएको छ । लोकल रुटको भाडादर समायोजन सम्बन्धी अधिकार प्रदेशहरुमा रहेको भएतापनि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सरोकारवाला सबैको सहमतिमा नयाँ भडादर कायम गरेको हो । कच्ची बाटो पक्की भइसक्दा पनि पुरानै भाडा लिएको थाहा हुन आएपछी यो निर्णय गरिएको प्रजिअ अर्यालले बताए ।
माथि उल्लेख गरिएको भाडादर सवारी साधन र काउण्टरमा टाँस्ने भनिएता पनि निर्णय भएको १ महिना बितिसक्दा पनि कतै टाँसिएको देखिदैन् । भाडादर समायोजन भएपनि लोकल रुटमा चल्ने स्याङ्जाका सार्वजनिक सवारी साधनहरुले मनपरी भाडा उठाउन छाडेका छैनन् । गल्याङदेखि मिर्मिसम्म जम्मा २० किमी कालोपत्रे सडकमा सार्वजनिक यातायातले २ सय रुपैयाँ सम्म भाडा लिने गरेका छन् । प्रतिकिमी ६ रुपैयाँ तोकिएको सरकारी मापदण्ड अनुशार २० किमी यात्राको अधिकतम भाडा १ सय २० रुपैयाँ हुनुपर्ने हो तर सबैजसो सवारी साधनले उक्त रुटको भाडा २ सय लिने गरेको यात्रुहरुको गुनासो छ । सवारीको स्तरोन्नती, इन्धन मूल्य, यात्रुको संख्या आदीले केही रकम तलमाथि भएपनि २० किमीको यात्रामा ८० रुपैंया फरक पर्नु यातायात व्यवसायीको मनोमानी भएको एक यात्रुले बताए ।
त्यसो त मिर्दिदेखी चापाकोटसम्म १९ किमी पक्की सडकको भाडा २ सय ५० रुपैयाँ लिने गरेको पाइएको छ । स्थानीय प्रशासनलाई यसबारे जानाकारी भएपनि थाहा नपाएझै गरेको छ । फितलो अनुगमनले गर्दा यात्रुको ढाड सेकाउने गरी मनोमानी भाडा उठाउने गरेको यात्रुको आरोप छ । यसरी प्रशासनको निर्णयविरुद्ध आफुखुशी भाडा उठाउँदा नियमित यात्रा गर्नेहरु मर्कामा परेको यात्रुको भनाई छ । ट्राफिक प्रहरीलाई यस विषयमा अनुगमन गर्न यात्रुहरुले अनुरोध गरेका छन् । प्रशासनले भाडादर निर्धारण गरिदिएर मात्र नहुने अनुगमन पनि गर्नुपर्ने यात्रुहरुको माग छ । कच्ची बाटो स्तरोन्नती भै पक्की भइसक्दा पनि पुरानै भाडा उठाइरहेको यात्रुहरुको गुनासो छ ।
राज्यले सहुलियत प्रदान गरेका जेष्ठ नागरिक, विद्यार्थी तथा अपांगलाई समेत यातायात व्यवसायीहरुले छुट दिने गरेका छैनन् । समान बोक्ने प्रयोजनका जीपहरुले क्षमता भन्दा बढी यात्रुहरु बोकेर हिडिरहेका छन् । रातो प्लेटका सवारी साधनहरुले यात्रु ओसार पसार गरिरहेका छन् । दर्ता नभै टेम्पो संचालनमा आएका छन् । यातायात क्षेत्रका यी बेथिति अन्त्यको लागि तत्काल सुधारका काम गनुपर्ने उपभोक्ता तथा यात्रुहरुको सुझाव छ । बयरघारी देखि बानेथोक देउरालीसम्म १४ किमी कच्ची सडकको भाडा पनि २ सय रुपैयाँ लिने गरेको स्थानीय केशरबहादुर खड्काले बताए । राङखोला देखि बिरुवासम्म १८ किमी पक्की सडकको भाडा २ सय ५० रुपैयाँ लिने गरेको यात्रु खुमकान्त मरासिनीको गुनासो छ ।
जिल्लाका सम्पूर्ण यातायात व्यवसायीका प्रतिनिधिहरुको रोहबरमा भाडादर कायम गरिएको बताउँदै स्याङ्जाका ट्राफिक प्रहरी प्रमुख भुपेन्द्र गौलीले भने, ‘हामीले सबैलाई भाडादर टाँस्न भनेका छौं । बढी भाडा नउठाउन सबैलाई अग्रह गरेका छौं । बढी भाडा उठाउने सवारी साधनको नम्बर दिनुस हामीले हाम्रो तर्फबाट कारबाही गर्छौं ।’ कुनै पनि सार्वजनिक सवारी साधनले बढी भाडा लिएको पाइएमा ट्राफिक प्रहरी कहाँ जानकारी गराउन यात्रुहरुलाई आग्रह गर्दै ट्राफिक प्रमुख गौलीले बढी भाडा लिएको पाइए नियमानुसार कारबाही गरिने बताए । उनले बढी भाडा लिएको पाइए प्रहरीको नम्बरमा फोन गर्न आग्रह गरेका छन् । अहिलेसम्म बढी भाडा उठाउने ५ वटा सवारी साधनलाई कारबाही गरिएको गौलीले बताए । उनले सबै सवारी साधनमा अनुगमन गरी रहन जनशक्ति अभाव भएकाले यस्ता विषयमा यात्रुहरु पनि बढी सजग हुनुपर्ने बताए ।
भीरकोट कालिका यातायात प्रा.लि.का अध्यक्ष रुद्रबहादुर सेनले प्रशासनको निर्णयपछी आफूहरुले भाडा घटाएको बताए । बयरघारीदेखि बानेथोक देउरालीसम्मको भाडा २ सय लिर्दै आएकोमा अबदेखि १ सय ७० मात्र लिने निर्णय भएको उनले जानाकारी दिए । कालीगण्डकी गल्याङ यातायात प्रा.लि.का अध्यक्ष भेमलाल अर्यालले आफूहरु प्रशासनको निर्णय मान्न तयार रहेको बताए । अर्यालले भने, कुनै कुनै गाडीले पुरानै भाडा लिएको भन्ने सुनिएको छ । अटेरी गर्नेलाई हामीले पनि कारबाही गर्छौ । नयाँ भाडादर कार्यालयमा टाँसी सबैलाई सोही अनुशार गर्न पत्राचार गरिएको छ । कुनै कुनै गाडीवालाले गल्ती गरेपनि अब नयाँ भाडादर कायम गर्न समिति लागिपरेको अर्यालले बताए । घाटा लाएपनि प्रशासनको निर्णय मान्न बाध्य भएको अर्यालको गुनासो छ । समितिले भाडा घटाएको बताए पनि गाडीहरुले पुरानै भाडा लिएको यात्रुहरुको दावी छ ।











प्रतिक्रिया