भक्तपुर ।
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्धारित मितिमा निर्वाचन गर्न नदिन केही तत्व लागि परेको बताउनुभएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उहाँले सरकारले फागुन २१ गतेको निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गर्ने बताउनुभयो ।
निष्पक्ष निर्वाचन गर्नका लागि बातावरण बनाउन सरोकारवालाहरूलाई संवादमा आउन आग्रह गर्दै गृहमन्त्री अर्यालले निर्धारित मितिमै निर्वाचन गर्न दलहरूले संवादमार्फत साथ र सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो । त्यसका लागि सरकारले सहजीकरण गरिरहेको बताउँदै गृहमन्त्री अर्यालले सरकारले निर्वाचनमार्फत जो कोही पनि आउन सक्छ भन्नुभयो ।
निर्वाचन गर्न नदिने तत्वहरूलाई सम्झाई बुझाई गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले केही राजनीतिकर्मीले सुरक्षाकर्मीको मनोबल गिराउने काम गरेको भन्दै मनोबल बढाउने काममा सरकारले काम गरिरहेको बताउनुभयो ।
शान्ति, सदभाव र सिंगो देशको राजनीति भत्काउन अपदस्त भएकाहरू लागि परेको टिप्पणी गर्दै गृहमन्त्री अर्यालले अपदस्त भएकाको गलत कामबाट देशमा विद्रोह भएकाले तिनीहरूलाई देशको राजनीति धुमिल्याउने खालका गतिविधि नर्गन सन्देश दिन चाहन्छांै भन्नुभयो ।
आन्दोलनका क्रममा सवारी साधन जलेको र हतियार लुटिएकाले प्रहरीलाई सरकारले सवारी साधन, हातहतियार तथा सामग्री दिन लागिपरेको उहाँले बताउनुभयो । उहाँले भक्तपुरका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न निर्देशन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो ।
भदौ २४ गते आन्दोलनको कारण जिल्ला प्रशासन कार्यालयको नगरिकता फाँट र मुद्दा फाँटमा आगलागी भएको क्षेत्रको समेत गृहमन्त्री अर्यालले अवलोकन एवं अनुगमन गर्नुभयो । प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले मन्त्री अर्याललाई जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।











प्रतिक्रिया