कहिले आउला ‘ए’ डिभिजन लिग सञ्चालनमा ?

940
Shares

काठमाडौं ।

पंकजविक्रम नेम्वाङ २०७९ असारमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । ‘चेन्ज द एन्फा’को आकर्षक नारा घन्काएर त्यति बेलाका अध्यक्ष भएका कर्माछिरिङ शेर्पालाई हराएर नेम्वाङ अध्यक्षमा निर्वाचित हुन सफल हुनुभयो । उहाँ एन्फामा भएको अपारदर्शी, अव्यवस्थित, भ्रष्टाचार, नातावाद, कृपावादजस्ता आदि खराब कुरालाई परिवर्तन गर्ने भनेर आउनुभएको हो ।

अहिले २०८२ साल भइसकेको छ । एन्फामा परिवर्तन गर्ने भनेर आएको नेम्वाङ नेतृत्वले केही पनि ठोस काम गर्न नसकेको सबैलाई महसुस गराएको छ । मुुख्य रूपमा घरेलु लिग नै समयमा गर्न सकिएन । उहाँको कार्यकालमा ‘ए’ डिभिजन लिग एकचोटि मात्रै सञ्चालन भयो । २०७९ मा सुरु भएको सो ‘ए’ डिभिजन लिग २०८० जेठमा समाप्त भएको थियो । जसमा, चर्च ब्वाइज युनाइटेड लिग च्याम्पियन बन्यो ।

यसपछि भने नेम्वाङ नेतृत्वले अर्को सिजनको ‘ए’ डिभिजन लिग गर्न सकेको छैन । यो नेतृत्वले बल्लबल्ल यही वर्ष ‘बी’ डिभिजन लिग सञ्चालन गरायो । यो नेतृत्व असफल भइसकेको एन्फाका केही सदस्यहरूले समेत स्वीकार गरिसकेका छन् । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित केही सदस्यहरूले पत्रकार सम्मेलन गरेर नै एन्फा अध्यक्ष नेम्वाङको राजीनामासमेत माग गर्नुभएको छ ।

त्यसो त एन्फाले आगामी पुसमा होम एन्ड अवे प्रणालीमा ‘ए’ डिभिजन लिग सुरु गर्ने मिति तोकेको थियो । तर, सहभागी हुने क्लबहरूले केही सुझाव तेर्साएपछि एन्फा यस वर्ष ‘ए’ डिभिजन लिग नै नगर्ने सोचमा पुगेको छ । एन्फाले परम्परागत लिग सञ्चालन गर्ने र छठपछि ‘ए’ डिभिजन क्लबहरूसँग छलफल गर्ने एन्फाका महासचिव किरण राईले बताउनुभएको छ । उहाँका अनुसार त्यसपछि मात्रै मिति तय हुने पनि बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष खड्काले भने लिग गर्न अनुमति दिनुपर्ने बताउनुभयो । उहाँले लिग गराउन तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यदि लिग गर्न सक्दैन भने अध्यक्षज्यूले राजीनामा दिनुपर्दछ । लिग गराउन म तयार छु । मैले योभन्दा अगाडि पनि लिग सम्पन्न गराएको नै हो । अहिले पनि लिग गराउन सक्छु । यदि मैले पनि लिग गराउन नसकेमा पदबाटै राजीनामा दिनेछु ।’

यसै गरी लिग सञ्चालनमा ल्याउन नेपाल फुटबल खेलाडी संघले एन्फालाई अनुरोध गरेको छ । अहिलेको नेतृत्वको गैरजिम्मेवारीका कारण घरेलु फुटबल संकटमा परेको खेलाडी संघले विज्ञप्तिमार्फत जानकारी गराएको छ । खेलाडी संघका अध्यक्ष विक्रम लामाले भन्नुभयो– ‘कुनै पनि देशको फुटबल लिग कति चलायमान हुन्छ त्यसका आधारमा राष्ट्रिय टोली निर्माणका लागि प्रतिस्पर्धा हुनेछ । तर, दुर्भाग्य पुरुषतर्फको सहिद स्मारक ‘ए’ डिभिजन लिग पछिल्लोपटक आयोजना भएको ८ सय ५० भन्दा बढी दिन भइसकेको छ ।’

नेम्वाङको नेतृत्व अब आठ महिनामात्रै बाँकी छ । पटकपटक लिग स्थगित गर्दै जाने हो भने उहाँको नेतृत्वको समय नै सकिनेछ । लामाले भन्नुभयो– ‘उहाँको कार्यकालमा एकपटक मात्र ‘ए’ डिभिजन लिग हुनु खेलाडी र समर्थकमाथि अन्याय हो । त्यसर्थ अहिले नेतृत्व फुटबलमाथि अन्याय गरेको छ ।’

घरेलु फुटबलको मेरुदण्ड भनेको लिग नै मानिन्छ । यदि, लिग गराउन सक्दैन भने नेतृत्वमा बसिरहन नैतिकताले पनि दिँदैन । तर, उहाँहरू कुनै पनि प्रतियोगिता नगरी पदमा बसिरहनुभएको भन्दै खेलाडी संघका अध्यक्ष लामाले चिन्ता व्यक्त गर्नुभयो ।
क्लबहरूलाई खेलाडीप्रति जिम्मेवार बनाउनु पहिलो दायित्व एन्फाकै हो । क्लबभन्दा बढी एन्फा नै अहिलेको अवस्थाको जिम्मेवार भन्नुपर्ने अवस्था छ । खेलाडी संघका अध्यक्ष लामाले फुटबलमा परिवर्तन आवश्यक भइसकेको बताउनुभयो । उहाँका अनुसार सोमबार फुटबल समर्थकको एक समूहले गेट अगाडि गरेको प्रदर्शनले एन्फा नेतृत्व डराएर एक कदम पछि हटेको खेलाडी संघको बुझाइ रहेको छ ।

यसै गरी अहिलेको नेतृत्व असफल हुनुको अर्को प्रमाण नेपालले अन्तर्राष्ट्रिय खेल विदेशी भूमिमा खेल्नु हो । एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालामा खेल्ने योग्य नभएको प्रतिवेदन दिएको अवस्था छ । यसले गर्दा नेपालले विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका घरेलु मैदानमा खेल्नुपर्ने खेलहरू विदेशी भूमिमै खेल्दै आएको छ ।

नेपालले विश्वकपअन्तर्गत यमनसँगको छनोट खेल खेलेपछि दशरथ रंगशालामा अर्को खेल खेल्न पाएन । यो खेल नेपालले २१ नोभेम्बर २०२३ मा खेलेको थियो । यसमा नेपाल २–० ले पराजित भएको थियो । यसपछि नेपालले दशरथ रंगशालामा विश्वकप छनोटको खेल खेल्न पाएन । बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) सँगको घरेलु खेल बहराइनमा खेल्नुपरेको थियो । जसले गर्दा नेपाली टोली पराजितसमेत हुनुप¥यो । साथै घरेलु समर्थकले आफ्नो टोलीले खेलेको खेल हेर्न पनि पाएनन् ।

यो फुटबलमा परेको नोक्सानीको कारण एन्फाको गैरजिम्मेवारी कामलाई नै ठहराउनुपर्छ । किनभने एन्फाले दशरथ रंगशालालाई एएफसीले भनेजस्तोे अन्तर्राष्ट्रियस्तरको बनाउन सकेको छैन । भन्नलाई त काम भइरहेको छ विस्तारै हुनेछ भन्ने तर, एएफसीले कामै नभएको प्रतिवेदन निकालेको छ ।

अहिलेसम्म नेपालमै खेल्न रुचाएका अञ्जन विष्टसमेत बंगलादेश लिगमा खेल्न जानुभयो । ‘नेपालमा लिग वा फुटबल नभएकाले जीविकोर्पाजनका लागि बंगलादेशमा खेल्न जानुपरेको छ’ –उहाँले बताउनुभयो ।

अञ्जनको यस भनाइले नेपालमा फुटबल खेलाडीहरू कति पीडित रहेछन् भन्ने कुरा स्पष्ट छ । त्यसो त अहिलेसम्म कुनै तथ्यांक त छैन, तर, करिब १ सयको हाराहारीमा फुटबल खेलाडीहरू विदेश पलायन भइसकेका छन् । समयमै केही सकारात्मक कदम नचालेमा नेपाली फुटबलको अवसान हुन बेर लाग्दैन ।