–१३ दिनपछि आर्थिक कारोबार ठप्प हुँदै
–मेयरको ढिपी र उपमेयरको अडान यथावत्
काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कार्यपालिकाका सदस्यको आग्रह अस्वीकार गरेपछि बहुमतको आधारमा कार्यपालिका बैठक र नगरपरिषद् बोलाउने तयारी भइरहेको छ । प्रदेश कानुनको आधार लिएर एक तिहाइ सदस्यले कार्यपालिका बैठक माग गर्ने र सोही आधारमा कार्यपालिका बैठक बोलाउनुपर्ने तयारी भइरहेको बताइएको छ ।
उच्चस्रोतका अनुसार त्यसको लागि मेयर साहसँग उपमेयर सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर, एकीकृत समाजवादीको तर्फबाट ईश्वरमान डंगोलसहितले अन्तिम बैठक बस्ने छ । त्यो बैठकमा पनि मेयर साहको अडान फिर्ता नभए बहुमतको आधारमा कार्यपालिका बैठक बोलाउने तयारी भइरहेको छ । एक कार्यपालिका सदस्यका अनुसार मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइ नगरपरिषद्को बैठक राख्न नचाहेपछि मेयरबाहेकका उपमेयरलगायत सबैले तत्काल कार्यपालिका बैठक बोलाउने निर्णय गर्ने तयारी गरेका छन् । उनले नेपाल समाचारपत्रसँग भने– ‘मेयर साहले आफू बेगर कसैले पनि बैठक राख्न नसक्ने अडान दोहोर्याउनुभएको छ । तर, मेयर साहले कार्यपालिकालाई बन्धक बनाएर अति गरेपछि बाध्य भएर बहुमतको आधारमा कार्यपालिका बैठक डाक्ने गृहकार्य गरेका हौं ।’
कार्यपालिका बैठक र नगर सभाको बैठक राख्ने विषयमा मेयर साह र उपमेयर डंगोलबीच पटक पटक वार्ता भएको छ । प्रवक्ता नवीन मानन्धरसँग पछिल्लो समय लगातार बैठक जारी छ । जति गर्दा पनि नमानेका कारण अब बहुमतको आधारमा बैठक बोलाउनेगरी गृहकार्य भइरहेको जानकारी दिँदै स्रोतले भन्यो– ‘हामी कानुनले के भन्छ सोही आधारमा बैठक बोलाउने तयारीमा छौं । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बाइपास गरी बैठक राख्ने मेयर साहको चालबाजी निस्तेज पार्न उपमेयर सुनिता डंगोल कानुनी उपचारमा जाने तयारी गरिरहनुभएको छ ।’
मेयरबाहेक सबै कार्यपालिका सदस्यले गाउँ, नगर र जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन अध्ययन गरी सोही ऐनलाई आधार बनाई बजेट ल्याउने गृहकार्य गरिरहेका छन् । सो ऐनको परिच्छेद ४ को उपदफा ३ अनुसार सभाका एक तिहाई सदस्यले बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष वा प्रमुखसमक्ष विषय वा कारण खुलाई लिखित अनुरोध गरेमा १५ दिनभित्र अध्यक्ष वा प्रमुखले सभाको विशेष बैठक बोलाउनुपर्ने व्यवस्था उल्लेख छ । त्यस्तै, उपदफा ४ मा बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसूचीअन्तर्गत बैठक बस्ने दिनभन्दा कम्तीमा ७ दिनअगावै अध्यक्ष वा प्रमुखको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले सभाका सबै सदस्यलाई पठाउनुपर्नेछ ।
ऐनको उपदफा ५ मा सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको ५० प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा सभाको बैठकको लागि गणपूरक सङख्या पुगेको मानिने, सभाको बैठकको अध्यक्षता अध्यक्ष वा प्रमुखले र निजको अनुपस्थितिमा उपाध्यक्ष वा उपप्रमुखले गर्नेछ भनिएको छ ।
उपदफा ७ मा सभाको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा सभाको बैठकमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिइने, बैठकको निर्णय सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रमाणित गर्नेछ ।
वागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको ऐनको परिच्छिेद ४ को कार्यपालिकासभाको बैठक र कार्यप्रणालीमा कार्यपालिका सभाको बैठक सामान्यतया वर्षको दुईपटक बस्ने र प्रमुख प्रशासकीय अधिकृतले सभाको सचिव भई काम गर्ने उल्लेख छ ।
मेयर साहले ४१ कार्यपालिका सदस्यको आग्रह बेवास्ता गरिरहेको कारण देशकै सबैभन्दा ठूलो कामपाको बजेट आउन सकेको छैन । मेयर र उपमेयरको आ–आफ्नै अडानका कारण बजेट आउने सम्भावना न्यून छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ ले आगामी आर्थिक वर्षको राजस्व र व्यय ( बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र नगरसभामा पेस गर्नु पर्ने कानुनी व्यवस्था छ ।
तर, आज ९ दिन कट्दासमेत बैठक बोलाउने विषयमा कुनै तयारी छैन ।बजेट नआए अबको १३ दिनपछि कामपाको आर्थिक कारोबार ठप्प हुनेछ । यस्तो अवस्थामा के गर्ने ? भन्ने विषयको उत्तर महानगरसँग छैन । मेयर साह प्रमुख प्रसाशकीय नराखीकनै बैठक राख्ने र उपमेयर डंगोल भने प्रमुख प्रशासकीय अधिकृतबिना बैठक असम्भव भएको अडानमा छन् । मेयर साहको ढिपी र उपमेयरको अडानका कारण कामपामा नगरपरिषद् बस्न सकेको छैन ।
प्रतिक्रिया