एक भारतीय नागरिक एयर पेस्तोल र गोलीसहित पक्राउ


झापा ।

चालु अवस्थामा रहेको हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका एयर पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ३५ वर्षीय भारतीय नागरिक जयप्रकाश कुमार पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारत सिलगुढीका पाठकको साथमा दूईवटा खुकुरी पनि रहेको जनाएको छ ।

डब्लुबी ७० जी ३२३२ नम्बरकोे कारमा नेपालतर्फ आँउदै गर्दा जाँच गर्दा उक्त कारमा हतियार लुकाएर ल्याएको पाईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिए । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टाले उक्ता सवारी साधनमा जाँच गरेको बताएको छ ।

चालु अबस्थामा रहेकोे म्याग्जिन खोलेर हेर्दा एयर वुलेट जस्तो देखिने पाँच राउन्ड, चालक बस्ने सिटदेखि बायाँतर्फको सिटमुनि दुवै साईडमा एक–एक थान दावसहितको दुई थान खुकुरीसहित पक्राउ परेका पाठकलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको खड्काले जानकारी दिएका छन् । घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।