–इजरायल भ्रमण नगर्न सरकारद्वारा ट्राभल एड्भाइजरी
–इरानमा रहेका नेपालीलाई देश छोड्न आग्रह
काठमाडौं ।
इजरायल–इरान युद्ध चुलिँदै गएपछि इजरायलमा श्रम गर्न गएका १२ हजारभन्दा बढी नेपाली नागरिक युद्धको चपेटामा परेका छन् । दैनिक बम–बारुदको डर र आकाशमा गुन्जिरहने साइरनबीच उनीहरू ज्यान जोगाउन बंकरमा लुकेर बस्न बाध्य हुन थालेका छन् । युद्ध उत्कर्षमा पुगेपछि उनीहरूले उद्धारका लागि सरकारले गरेको तयारीलाई नजिकबाट हेरिरहेका छन् ।
भयानक हवाई आक्रमण र क्षेप्यास्त्र हमलाले इरान र इजरायली भूभाग आक्रान्त हुन थालेपछि त्यहाँ कार्यरत नेपालीहरू घर फर्कन खोजे पनि इजरायलको एयरस्पेस बन्द भएकाले त्यहाँ नै बस्न बाध्य भएका छन् । पाल्पाका दिनेश रायमाझीजस्ता सयौँ नेपालीहरूको मन त नेपाल फर्कने बताएका छन् तर अवस्था त्यस्तो छैन । इजरायलमाथि इरान, हमास, हिजबुल्लाह र यमनका हुथी विद्रोहीहरूबाट एकसाथ आक्रमण शुरू भएपछि स्थिति थप भयावह भएको छ । लगातारको हमलाले गर्दा नेपाली कामदारहरू अहिले जागिर छोडेर बंकरभित्र शरण लिन बाध्य छन् ।
रूकुमका टीकाराम रोकाया अहिले कार्यस्थल छाडेर बंकरमै बस्न बाध्य हुनुभएको छ । उहाँ भन्नुहुन्छ– ‘अब यहाँ बस्न पनि डर लाग्न थाल्यो । हरेक दिन राति साइरन बज्छ । कहिले कहाँ बम पर्छ भन्ने थाहा हुन्न ।’ नेपाल फर्कन चाहने नेपाली नागरिकलाई परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावास र काठमाडौंस्थित मन्त्रालयमा नाम टिपाउन आग्रह गरे पनि अहिलेसम्म ठोस उद्धार योजना भने सार्वजनिक भइसकेको छैन ।
परराष्ट्रमन्त्री डा. आरजु देउवाका प्रेस सल्लाहकार एकराज पाठकले नेपाल फर्कन चाहने नेपालीलाई ट्रान्जिट भिसाका लागि इजरायलको सीमा जोडिएका मुलुकहरूसँग सम्पर्कमा रहेको बताउनुभयो । ‘जोर्डनमा नेपाली दूतावास नरहेकाले त्यहाँस्थित भारतीय दूतावासमार्फत सहजीकरण गर्न आग्रह गरिएको छ’ –पाठकले नेपाल समाचारपत्रसँग भन्नुभयो ।
इजरायलमै बस्ने इच्छा राख्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आएका शर्मिला गुरुङ, युवराज पौडेल, नवीन चालिसे र प्रदीप शर्माले भने आफूहरू नेपाल फर्कन तयार नरहेको बताएका छन् । तर, यस्ता अभिव्यक्तिलाई रूकुमका रोकाया र अरू नेपालीले ‘सामाजिक सञ्जालको देखावटी कुरा’ भन्दै खण्डन गरेका छन् ।
सरकारले इरानमा रहेका नेपालीलाई तत्काल इरान छोडेर सुरक्षित मुलुकतर्फ जान आग्रह गरेको छ । इजरायलको भन्दा पनि इरानको अवस्था झन् बिग्रिएकाले नेपाली नागरिकलाई तत्काल इरान छोड्न आग्रह गरिएको पाठकले जानकारी दिनुभयो ।
नेपाली सेनाको निगरानी
नेपाली सेनाले मध्ययपूर्वमा फैलँदै गएको तनावलाई नजिकबाट हेरिरहेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले मध्यपूर्वको संवेदनशील अवस्थालाई नेपाली सेनाले नजिकबाट हेरिरहेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो– ‘इजरायल र इरानको नजिक रहेको लेवनान, गोलानहाइट र इराकमा रहेका १ हजार ४ सय नेपाली शान्ति सैनिक अहिलेसम्म सुरक्षित रहेको र उनीहरूसँग नेपाली सेना नियमित सम्पर्कमा रहेको छ ।’
संयुक्त राष्ट्रसंघले पनि अहिलेको मध्यपूर्वको तनावको अवस्थालाई नजिकबाट हेरिरहेको र कुनै पनि शान्ति सैनिकमाथि कुनै अफ्ठेरो आइपरे तत्कालै उद्धार गर्ने गरी ती मिसनलाई प्राथमिकतामा राखेको जनाएको छ । राष्ट्रसंघको मुख्यालय न्युयोर्कले अहिलेको तनावलाई कम गर्न इजरायल इरानलाई पटकपटक आग्रह गर्दै आएको छ ।इजरायल–इरान युद्धको चपेटा नजिकै रहेका अन्य राष्ट्रहरूमा तैनाथ नेपाली शान्तिसेना पनि सुरक्षाको दृष्टिले संवेदनशील अवस्थामा छन् ।
नेपालको ट्राभल एड्भाइजरी
नेपाल सरकारले युद्ध उत्कर्षमा पुगेको भन्दै हाललाई अत्यावश्यकबाहेक अरू काममा इजरायल नजान ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ । परराष्ट्र मन्त्रालयले हालको स्थितिलाई मध्यनजर गर्दै नयाँ श्रमिक, पर्यटक वा आगन्तुकलाई इजरायल नजान अनुरोध गरेको छ ।
युद्धको पृष्ठभूमि र क्षति
इरान–इजरायलबीचको टकराव एक हप्ताभन्दा बढी समयदेखि चर्किएको छ । सुरुवातमा इजरायलले इरानको राजधानी तेहरानमा आक्रमण गरेपछि इरानले जवाफी कारवाही शुरू गरेको थियो । त्यसयता इरान, हमास, हिजबुल्लाह र यमनका हुथी विद्रोही मिलेर इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेका छन् ।
हालसम्मको युद्धमा इजरायलमा ४० भन्दा बढी नागरिक र दर्जनौँ सैनिकको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसै गरी इजरायली आक्रमणमा परेर ६ सयभन्दा बढी इरानी नागरिको ज्यान गइसकेको छ ।
दुवै पक्षको युद्धमा सयौँको संख्यामा मानिस घाइते भएका छन् भने दर्जनौँ संरचना, घर, अस्पताल, औद्योगिक भवन, गोदाम आदि ध्वस्त भएका छन् ।
प्रतिक्रिया