भूपदेव शाह मेयर कि स्वकीय सचिव ?

53.96k
Shares

-मेयरलाई पठाएको पत्रमा  स्वकीय सचिव शाहको तोक

काठमाडौं ।
 काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहले तोक लगाएर कार्यादेश दिएको कागजात धमाधम बाहिरिएको छ । निर्दोष कर्मचारीलाई फसाएको आरोप लागेपछि कर्मचारीलेनै अनधिकृत पत्र बाहिर ल्याएका हुन्।

 विशेषगरी स्वकीय सचिव शाह आफैले मेयर साहको नाममा फेक पत्र बनाउन र आफैले तोक लगाएर आवश्यक कार्यान्वयन गर्नु भन्दै पत्र पठाएको पाईएको छ । नेपाल समाचारपत्रले प्राप्त गरेको एउटा पत्रमा काठमाडौँ  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईलाई फसाउन स्थानीयवासीको नाममा पत्र काटेर स्वकीय सचिव शाहले निर्देशानुसार आवश्यक कार्यान्वयन (आका) गर्न अनुरोध गर्दछौ भनिएको छ । सो पत्र सार्वजनिक निजी साझेदारी(पिपिपि)इकाईलाई पठाइएको छ ।

 पत्रमा भनिएको छ–’उपरोक्त सम्बन्धमा काठमाडौं महानगरपालिकाले सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत पुरानो बसपार्कमा बन्दै गरेको टाबर लामो समयदेखि के कारणले रोकिएको हो रु र नया प्रमुख प्रशासकीय अधिकृत आएपछि सामाजिक तथा वातावरणीय अध्ययन मुल्याङकन बिना नक्सापास स्विकृति पाएको  जानकारी आएको छ । यस विषयमा थप छानबिन गरी हामी काठमाडौ वासी स्थानीयलाई जानकारी गराईदिनुहुन हजुरसंग विनम्र निवेदन गर्दछु ।’ 

 निवेदन दिनेमा वडा नंबर २८का स्थानीय उल्लेख छ ।  स्वकीय सचिव शाहले गतवर्ष पुस ९ गते प्रमुखको सचिवालयको स्वकीय सचिवको रुपमा हस्ताक्षर गरी कार्यान्वयन गर्न तोक लगाएका छन् । पुराना बसपार्कको सो भवन नक्सा स्वीकृत गर्नुअघि मेयर साहकै आदेशमा ५ लाख रुपिया जरिवाना तोकिएको थियो । जरिवाना तिरेपछि  थप प्रक्रिया अघि बढेको थियो ।

 त्यस्तै स्वकीय सचिव शाहले ३२ वडाले तयार गरेको पत्रमा वडासंग समन्वय गरी आवश्यक कार्यान्वयन गर्न महानगर प्रहरीलाई अनुरोध गरिएको छ । सो पत्रमा टहरा हटाउन आग्रह गरिएको छ । वडाले कारबाही गर्न नसकेपछि मेयरलाई पत्र पठाउने र मेयरको जिम्मा आफुले लिएर स्वकीय सचिव शाहले तोक लगाउने गरेको फेला परेको छ ।

 पत्रमा गतवर्ष फागुन १३ गते  तयार भएको पत्रमा बहादुरकृष्ण ताम्राकारले काठमाडौँ  इन्टरलेशनल हस्पिटललाई बिक्री गरेको जग्गामा महेन्द्र नाम गरेको व्यक्ति अनधिकृत रुपमा बसिरहेको हुँदा हटाई पाउ भनी बहादुरकृष्ण ताम्राकार र  अस्पतालले संयुक्त निवेदन आवश्यक कारबाहीको लागि पठाएको उल्लेख गरेको छ । उच्च स्रोतका अनुसार वडा कार्यालयले गर्न  नसकेको काम वडाले मेयर सचिवालयमा पठाउने र  मेयरको अधिकार हस्तक्षेप गरी स्वकीय सचिवले तोक लगाउने गरेको फेला परेको छ ।

 कानुन विपरीत तोक लगाएको विषयमा छानबिन गर्नुपर्ने माग बढेको छ । तत्कालीन महानगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले स्वकीय सचिव शाहकै तोक आदेशको भरमा काम गर्ने गरेको स्रोतको भनाई छ ।