विराटनगर।
धरान उपमहानगरपालिकाका मेयर र उपमेयरबीच पुनः विवाद चर्किएको छ । धरान १६ को सर्दुखोला नियन्त्रण कार्यमा भएको खर्चको भुक्तानीलाई लिएर नगर मेयर हर्क साम्पाङ (हर्कराज राई) र उपमेयर आइन्द्रविक्रम बेघाबीच विवाद चर्किएको हो । मेयर साम्पाङ र उपमेयर बेघाबीचको विवाद चुलिँदै जाँदा धरान तनावग्रस्त बनेको छ ।
श्रमदानको बिल उपभोक्ता समिति बनाएर पेशेपछि भुक्तानी रोकेको भन्दै उपमेयर आइन्द्र बेघालाई मेयर हर्क साम्पाङ पक्षले हार्दिक श्रद्धाञ्जली लेखेपछि माओवादी कार्यकर्ता आक्रोशित भएका छन् । मंगलबार दुवै पक्ष आम्ने साम्ने भएपछि यहाँ एपीएफ, नेपाल प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । दिउँसो २ बजे बोलाइएको बजेट तथा सिलिङ निर्धारण समितिको बैठकअघि मेयरको कार्यकक्षा दुईजनाबीच विवाद भएको र त्यसको सूचना बाहिरिएपछि नारायणपथमा श्रमदान गरिरहेका हर्कका समर्थक उपमहानगर आएको बताइएको छ । हर्कका समर्थकले ‘विकासविरोधी उपमेयर चाहिँदैन । राजनीतिक दलहरू चाहिँदैन’ भन्दै नाराबाजी गरेका छन् । माओवादी कार्यकर्ताले ‘हर्क साम्पाङ मुर्दावाद, गैरकानूनी काममा राज्यको दोहन गर्न पाइँदैन भन्दै’ नारा लगाएका छन् ।

साम्पाङका समर्थक र उपमेयर बेघासम्वद्ध माओवादीका कार्यकर्ता आमनेसामने भएपछि स्थिति तनावग्रस्त बनेको हो ।
वडा नम्बर १६ मा ग्याबिन जाली राख्न श्रमदानबाट गरिएको कामको डोर हाजिर बनाएर भुक्तानी मागिएपछि त्यसलाई बेघाले रोकेका थिए । पहिले सकिएको कामलाई कानूनविपरीत निकासाका लागि दबाब दिएको र आफूले अनुगमन र समर्थन गर्न नसक्ने बेघाको अडान छ । मेयर साम्पाङले भने बाढीपीडित क्षेत्रमा आपतकालीन अवस्था हेरेर जनताको घर बचाउन तत्काल काम गरिएको प्रष्टीकरण दिएका छन् । नेकपा माओवादी केन्द्र धरान कमिटी अध्यक्ष उद्धव लिम्बूले मेयरले आफ्ना समर्थकलाई उचालेर उपमेयरमाथि अभद्र व्यवहार गराएको आरोप लगाएका छन् ।
सोमबार मेयर साम्पाङले आफ्नो कार्यकक्षमा बोलाएपछि पुगेका बेघालाई उनका सामर्थकले हातपात गर्न खोजेका थिए । मंगलबार भने बेघा पक्षधर उपमहानगर परिसरमा जम्मा भएर साम्पाङ पक्षको विरोध गरेका छन् । श्रमदान मार्फत भएको कामका लागि साम्पाङका समर्थकले १५ जनाको डोर हाजिरी मार्फत १ लाख ४८ हजाार ५ रुपैयाँ भुक्तानीका लागि पेश गरेका थिए । सर्दु कटान रोक्न श्रमदान मार्फत १७ लाख ४० हजार बराबरको काम भएको साम्पाङ पक्षको दाबी छ । ‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले १७ लाख ४० हजार बराबरको काम भएको दाबी गर्दै ९ लाख ९८ हजारको श्रमदान भएको र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागदाबी छ ।
साम्पाङको श्रमदान अभियानलाई भन्दै देश र विदेशबाट लाखौं आर्थिक सहयोगसमेत उठ्ने गरेको छ । त्यो रकमबाट निर्माण सामग्री खरिद गरेको साम्पाङले बताउँदै आएका छन् । डोर हाजिरी गरी भुक्तानी मागेर बील नै पेस भएपछि उनको अभियान प्रचारका लागि मात्रै भएको भन्दै आलोचना बढेको छ । यता मेयर साम्पाङले भने ठूला लागतका आयोजना श्रमदान अभियानका कारण कममा सम्पन्न हुने गरेको दाबी गरेका छन् । बिहान भएको पत्रकार सम्मेलनमा उनले श्रमदान अभियानमा पनि उपभोक्ता समिति बन्ने गरेको जिकिर गरे। दिउँसो फेरि अर्को भिडिओमार्फत् साम्पाङले डोर हाजिरीको फोटो फेसबुकमा राखेर विरोधीले अफवाह फैलाएको जिकिर गरेका छन् । भिडिओमार्फत् उनले त्यो कागज रेकर्ड राख्नमात्र गरिएको बताए ।
उता धरानका मेयर प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले उपभोक्ता समिति मार्फत भएको कामका विषयमा विवाद देखिएको बताएका छन् । विकास निर्माणको भुक्तानीका लागि उपमेयरले अनुगमन गरी प्रतिवेदन दिनुपर्छ । तर बेघाले यो कार्यको अनुमगन प्रतिवेदन दिन मानेका छैनन् । श्रमदान भन्दै समर्थकलाई डोर हाजिरीमा काम लगाएको भन्दै उनले प्रतिवेदन दिन नमानेका हुन् । अनुगमन गर्न नमानेपछि साम्पाङका समर्थकले बेघालाई हातपात गर्न खोजे । त्यसपछि सामाजिक सञ्जालमा बेघाविरुद्ध साम्पाङका समर्थकले आक्रोश पोखिरहेका छन् । मंगलबार भने बेघाका समर्थक कार्यालय परिसरमा भेला भएका थिए ।

कार्यालय परिसरमा भेला भएका बेघा समर्थकले मेयरको समूहले अमानवीय व्यवहार देखाएको दाबी गरेका छन् ।बेघाका अनुशार मेयर साम्पाङका समर्थकले श्रमदानबाट भएको काममा पनि डोर हाजिरीको भुक्तानीका लागि पेस गरेका छन् । उपभोक्ता समिति मार्फत भएको काममा तारजाली र डोर हाजिरीको भुक्तानीको विषय भएकाले अनुगमन नगरेको बेघाले बताए । मेयर हर्क साम्पाङले भने उपमेयरले अनुगमन गरेर प्रतिवेदन आफैं राखेको दाबी गरे । १७ लाख रुपैयाँको काम श्रमदान मार्फत ७ लाखमा सकेको बताउँदै उनले भुक्तानीका लागि उपमेयरले अवरोध गरेको बताएका छन् ।
तर धरानमा विपद्का बेलामा गरेको विषयमा उपमेयरले अनावश्यक रुपमा अवरोध गरेको मेयर साम्पाङको भनाइ छ । ‘बस्ती जोगाउन हामीले इनिसिएटिभ लियौं, जालीहरू लगायौं, तर भुक्तानी दिने बेलामा खबरदार भन्दै मेयर प्रशासकीय अधिकृतलाई थर्काउने काम भइरहेको छ,’ उनले भने,‘… काम गर्नका लागि अप्ठेरोे बनाउने काममा उपमेयर लागेका छन् ।’ धरान १६ मा भएको कामका विषयमा वडाध्यक्ष सहभागी हुन नमानेपछि आफू पनि सहभागी भएर सार्वजनिक सुनुवाइ पनि गरेको उनले बताए । सार्वजनिक हितका लागि काम गर्दा श्रमदान नै गैरकानुनी हो भन्ने भाष्य सृजना गर्न खोजिएको उनको गुनासो छ ।
प्रतिक्रिया