काठमाडौँ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगले कर्मचारी छनौट गर्दा निष्पक्षता र तटस्थताको नीति अनुसार सक्षम कर्मचारी छनौट गर्ने कार्य गर्दै आइरहेको भन्दै प्रशंसा गरेका छन् ।
आयोगको ७५ औं वार्षिकोत्सव तथा हीरक जयन्तीको अवसरमा आयोगद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राष्ट्रपति पौडेलले लोकसेवा आयोगले स्थायी प्रशासन सञ्चालन गर्ने निजामती कर्मचारी तथा अन्य राष्ट्रसेवक कर्मचारीहरु छनौट गर्ने सवालमा निष्पक्षता कायम गर्दै आफ्नो छविलाई अटल साबित गरिरहेको भन्दै प्रशंसा गरे । ‘लोकसेवाले सधैँ असल र उम्दा कर्मचारी मात्रै छनौट गर्ने गरेको छ , लोकसेवाले आर्जन गरेको यो विश्वासलाई सधैँ अटल राख्नुपर्छ । ’राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले आयोगले आगामी दिनमा कर्मचारीहरु छनौट गर्दा उच्च नैतिकता र इमान्दारीता भएकाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । पौडेलले लोकसेवा बाट छनौट भएर उत्कृष्ट भई सरकारी सेवामा प्रवेश गरेका कर्मचारीहरुले पनि देश र जनतालाई केन्द्रविन्दुमा राखी काम गर्नुपर्ने बताए । पौडेलले कर्मचारीले जनताको मन जितेर काम गर्न सकेमा मात्रै लोकतन्त्र बलियो र संस्थागत हुन सक्ने जनाए । लोकसेवाले आगामी दिनमा अझै प्रभावकारी काम गरी आफ्नो छविलाई उच्चो बनाउने विश्वास उनले व्यक्त गरे ।

सो कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता र तटस्थता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताए । प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत सङ्गठित संस्थामा पदपूर्तिका लागि आयोगले खेलेको भूमिका र योगदानको प्रशंसा गरे । ’नेपाल र नेपालीको चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै यसलाई प्रविधिमैत्री र समयसापेक्ष बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ,’ प्रधानमन्त्री ओलीले भने, ’आयोगलाई थप साधनस्रोत सम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले उचित ध्यान दिनुपर्छ ।सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।’
प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र एक अर्काका परिपूरक भएकाले दुबै पक्षको समन्वयत्मक र प्रभावकारी कार्यबाट मात्रै मुलुकले प्रगति र समृद्धि हासिल गर्न सक्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले सरकारी सेवालाई आकर्षणको केन्द्रविन्दु बनाउन आयोगले सोही अनुसारका रणनीतिक कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए । प्रधानमन्त्री ओलीले लोकसेवाको सुझावलाई सबै पक्षले कार्यान्वयन गर्नुपर्ने र यसको गौरवलाई माथि उकास्न सरोकारवाला पक्ष प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले लोकसेवा आयोगको ऐतिहासिक पक्षको बारेमा प्रकाश पार्दे आयोगले गरेका कामकारवाहीका बारेमा जानकारी दिए । अध्यक्ष रेग्मीले आयोग आफ्नो संवैधानिक भूमिका अनुसार निष्पक्षता कायम गर्दै शसक्त रुपमा अघि बढिरहेको र प्रविधिलाई समेत मध्यनजर गरिएको जनाए । अध्यक्ष रेग्मीले कतिपय प्रदेश सरकारले लोकसेवाको सिद्धान्तविपरित कर्मचारीहरु नियुक्ति गरिरहेको भन्दै त्यस्तो कार्य रोक्नुपर्ने आवश्यता औँल्याए । आयोग अध्यक्ष रेग्मीले आयोगले सरकारी निकायलाई विभिन्न सुझावहरु दिँदै आएको र ती सुझावहरुको प्रभावकारी कार्यान्वयन भएमा सेवा प्रवाह प्रभावकारी हुने र मुलुकमा सुशासन समेत कायम हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नाता र दाताबाट कर्मचारी नियुक्त हुने प्रचलन अन्त्य गरी लोकसेवा आयोगले योग्यताका आधारमा कर्मचारी नियुक्ति गर्ने परिपाटी विकास हुनु लोकतन्त्रकै सुन्दर पक्ष भएको बताए । उनले संघीय निजामती सेवा ऐन छिट्टै आउने दावी गरे ।

कार्यक्रममा बोल्दै आयोगका सचिव किरणराज शर्माले आमकर्मचारीको अभिभावकको रुपमा रहेको लोकसेवा आयोगले स्वच्छता र प्रतिस्पर्धाका आधारमा कर्मचारी छनौट प्रक्रियालाई अझै वैज्ञानिक बनाउँदै अघि बढिरहेको बताए । सचिव शर्माले वर्तमान संविधानले आयोगको क्षेत्राधिकारलाई व्यापक पारेको अवस्थामा विद्यमान जनशक्तिकै उच्चतम प्रयोग गरी आयोगले प्रभावकारी रुपमा काम कारवाही सञ्चालन गरिरहेको स्पष्ट पारे ।
आयोगकी सहसचिव गीताकुमारी होमेगाईले सञ्चालन गर्नुभएको र आयोगका सदस्य दिनेश सिलवालले धन्यवाद व्यक्त गर्नुभएको सो कार्यक्रममा आयोगका पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया